काठमाडौँ
००:००:००
२३ मंसिर २०८२, मंगलवार

२३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान नभई निरन्तरको संघर्ष भएको उल्लेख गरेका छन्।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सुशासनका पक्षधर सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले भ्रष्टाचार अन्त्यका लागि राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सचेत सहभागिता अपरिहार्य रहेको उल्लेख गरे।

संयुक्त राष्ट्रसंघको भ्रष्टाचारविरुद्धको महासन्धि सन् २००३ मा पारित भएपछि हरेक वर्ष ९ डिसेम्बरमा यो दिवस मनाउने गरिन्छ। नेपालले सन् २०११ मा यो महासन्धिलाई अनुमोदन गरी सुशासन र पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता जनाएको थियो।

उनले जारी गरेको सन्देशमा भनिएको छ, “म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौँ, सुशासनकै पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, बिचौलिया र भ्रष्ट तत्त्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ।”

उनले बिनाकुनै राजनीतिक आग्रह र पूर्वाग्रह, भूटानी शरणार्थी प्रकरणलगायत ठूला भ्रष्टाचार काण्डको छानबिन अघि बढाइएको पनि दाबी गरे। “यसका साथै प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम चालिए, हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्चपदस्थ सबैको सम्पत्ति छानबिनको माग मैले संसद्को रोस्टमबाटै गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्‍याउँछु,” उनले भनेका छन्।