काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।
आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमाभित्र ती राजनीतिक दलले निवेदन दिएका हुन्।
आयोगले यही २१–२३ मंसिरसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो। सो समयभित्र १०० राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ।
यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिह्न लिएका र एकल चुनाव चिह्न लिएका राजनीतिक दल छन्। प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही २६ मंसिरसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ।
आयोगले तय गरेको कार्यसूचीअनुसार आगामी १३ र १४ पुसमा समानुपातिकतर्फको बन्द सूची पेस गर्नुपर्नेछ। सो सूचीमाथि आवश्यक अध्ययनपश्चात् आगामी ४ माघमा प्रारम्भिक सूची प्रकाशित हुनेछ । उक्त सूचीमाथि दाबी विरोध र आवश्यक छानबिन गरी आगामी २० माघमा अन्तिम सूची प्रकाशित हुनेछ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्। यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्।