काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) मा यही मङ्सिर २६ गतेदेखि हुने एसिसी पुरुष यु–१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक कार्यक्रमको आयोजना गरेर टोलीको बिदाइ गरेको हो।
बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशनबहादुर सिंहलगायतको उपस्थिति रहेको थियो। अशोक धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली युएई प्रस्थान गर्नेछ।
टोलीका अन्य सदस्यमा नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपीन शर्मा, वंश छेत्री र युवराज खत्री रहेका छन्।
नेपालले पहिलो खेल श्रीलङ्कासँग यही मङ्सिर २७ गते खेल्ने छ। नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ। नेपालले सबै खेल सेभेन्स रङ्गशालामा खेल्नेछ। प्रतियोगितामा आठ टोली सहभागी छन्।
समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। उपाधि भिडन्त पुस ६ गते हुनेछ।