सुनसरी। धरान उपमहानगरपालिका १९‚ मिलनचोकस्थित भित्री सडकखण्डमा बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्।
मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को.१क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको को.१ह ८७७४ नम्बरको अटोलाई बुधबार बिहान पौने १० बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए।
दुर्घटनामा सख्त घाइते भएका अटो चालक धरान उपमहानगरपालिका १९, एकता मार्गका २४ वर्षीय निमेष भुजेललाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता खड्काले बताए।
अटोमा रहेका धरान १९ का ४८ वर्षीय टिकाराम लिम्बू घाइते भएका छन्। उनको बिीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।
अटोलाई ठक्कर दिने बसचालक धरान उपमहानगरपालिका १४ का २९ वर्षीय अमिर तामाङलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।