काठमाडौँ। बाबुछोरीबीच सम्बन्धको कथामा बनेको नेपाली चलचित्र मिरमिरे प्रदर्शनको तयारीमा जुटेको छ।
निर्माण टोलीले १ माघमा चलचित्र प्रदर्शन गर्ने जनाएको छ। चलचित्रमा छोरीका लागि बाबुले गरेको संघर्षको कथा छ। आमाले घर छोडेपछि छोरी र बाबु मात्रै घरमा हुन्छन्। छोरी सानी छन्। उनले स्वयं केही गर्न सक्दिनन्। त्यसैले उनका लागि बाबुले नै सबै गर्नुपर्छ।
छोरीको स्याहार, घरको काम, छोरीको विद्यालय र आफ्नो जागिर बाबुले कसरी एक्लै गर्छ ? चलचित्रमा छोरीप्रति बाबुले निभाएको कर्तव्य उजागर गरिएको छ। “हरेक बाबुआमालाई आफ्ना सन्तानको अथाह माया हुन्छ। त्यो माया कति देखाउने भन्ने मात्रै हो,” मिरमिरेका निर्देशक यम शेर्पा भन्छन्, “बाबुले छोरीलाई गर्ने माया र उसका लागि गरेको त्याग हाम्रो चलचित्रले देखाउँदै छ।”
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन्। चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहेका चलचित्र वितरक रोहित कट्टेल छन्।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक छन्।