काठमाडौँ
००:००:००
२५ मंसिर २०८२, बिहीबार

२५ मंसिर २०८२
अ+
अ-

हुम्ला। हुम्लाका २७ मतदानस्थललाई भौगोलिक विकटता र राजनीतिक विवादका कारण अति संवेदनशील ठहर गरिएको छ। जिल्लामा ६० मतदानस्थल र ६१ मतदान केन्द्र कायम गरिएको छ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा यस पटक थपिएका गरी जम्मा ६० मतदानस्थलमध्ये २७ वटा भौगोलिक विकटता र राजनीतिक विवाद हुने ठहर गर्दै अति संवेदनशील मतदानस्थलका रूपमा ठहर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताए।

समितिको निर्णयअनुसार २१ वटा संवेदनशील र १० सामान्य छन्। जिल्ला सुरक्षा समितिको बैठकले निर्धारण गरेअनुसार अदानचुली गाउँपालिकामा छ मतदानस्थल रहेकामा एक मतदान केन्द्र अतिसंवेदनशील छ भने पाँच वटा संवेदनशील छन् ।

आठ मतदानस्थल रहेको चंखेली गाउँपालिकामा पाँच अति संवेदनशील र तीन संवेदनशील छन्। सात मतदानस्थल रहेको ताँजाकोट गाउँपालिकामा पाँच वटा अतिसंवेदनशील र दुई मतदानस्थल संवेदनशील छन्।

त्यसैगरी १२ मतदानस्थल रहेको सर्केगार्ड गाउँपालिकामा पाँच अति संवेदनशील, चार संवेदनशील र तीन सामान्य छन्। पाँच मतदानस्थल रहेको खार्पुनाथ गाउँपालिकामा दुई अतिसंवेदनशील, दुई संवेदनशील र एउटा सामान्य छ।

यस्तै एघार मतदानस्थल रहेको नाम्खा गाउँपालिकामा पाँच अतिसंवेदनशील, चार संवेदनशील र दुई सामान्य अवस्थाका मतदानस्थल निर्धारण गरिएको छ।

सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकामा नौ मतदानस्थल रहेकामा चार अतिसंवेदनशील, दुई संवेदनशील र तीन सामान्य छन्। मुख्यगरी भौगोलिक विकटता र राजनीतिक विवादलाई आधार मानेर मतदानस्थलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए।

यसरी निर्धारण गरिएका मतदानस्थलअनुसार सुरक्षा व्यवस्थासमेत निर्वाचनका बेला गरिनेछ। नाम्खा र चङ्खेली गाउँपालिकामा नयाँ मतदानस्थल थपिएका हुन्।

मङ्सिर ५ गते तोकिएको अवधिमा हुम्लाको मतदाता सङ्ख्या ३४ हजार ५०२ छ। यसअघि २०७९ सालको निर्वाचनमा ५८ मतदानस्थल कायम गरिएका थिए।