काठमाडौँ। मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १३औं संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ। महोत्सवको राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष तपबहादुर मगरले नेपाल पर्यटन बोर्डको सभाहलमा उद्घाटन गरे।
जुलिया दाहर र डिना विन्डी निर्देशित विथ ग्रेस वृत्तचित्र प्रदर्शनीसँगै पाँचदिने महोत्सव सुरु भएको हो। बालअधिकार थिम बोकेको महोत्सवमा २६ देशका ५० फिल्म तथा वृत्तचित्र प्रदर्शन हुनेछन्।
आयोजक नेपाल मानवअधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीका अनुसार महोत्सवमा नेपाली फिल्मसँगै कान्स, भेनिस, बर्लिनाले, बुसानजस्ता प्रतिष्ठित महोत्सवमा प्रदर्शन भएका फिल्मसमेत देखाइनेछन्।
२९ मंसिरसम्म चल्ने महोत्सवका दोस्रो दिनदेखि समापनसम्मका सबै फिल्म चलचित्र विकास बोर्डको हलमा देखाइनेछ। महोत्सवमा छलफल, फोटो प्रदर्शनी, लाइभ पेन्टिङलगायत विविध कार्यक्रम हुनेछन्।