वीरगन्ज। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले तोकिएकै समयमा चुनाव हुने दाबी गरेका छन्।
बाराको सिमरामा बिहीबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले जेन-जी आन्दोलनपछि परिवर्तनलाई संस्थागत गर्न र सुरक्षित रुपमा अवतरण गराउन सही र सक्षम नेतृत्व छनोट गर्न आग्रह गरे। “तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न सरकारले आवश्यक तयारी गरिरहेको छ। चुनाव हुन्छ, आन्दोलनले चुनाव मात्र चाहेको हैन, विषम् परिस्थितिमा हुन लागेको चुनावपछिको नेतृत्व कस्तो आउँछ त्यतातर्फ गम्भीर भएर सोच्नुपर्ने अवस्था छ,” उनले भने‚ “भ्रष्टाचार नियन्त्रण, प्रभावकारी सेवाप्रवाह, सुशासनजस्ता आन्दोलनको म्यान्डेटलाई पूरा गर्न सक्षम र विश्वासिलो नेतृत्व चुन्नुपर्नेछ, त्यसैले यस्तो महत्त्वपूर्ण अवसरलाई प्रयोग गरी देशलाई समृद्ध बनाउन र नयाँ दिशातर्फ लैजान सक्ने नेतृत्व ब्यालेटमार्फत छनोट गरौँ ।”
सुशासन र सामाजिक न्यायको क्षेत्रमा ठूलो काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्री घिसिङले सही र सक्षम नेतृत्व छनोट गरी मुलकको समग्र क्षेत्रको विकासका लागि अगाडि बढ्नुपर्ने बताए। उनले मधेस प्रदेशका जिल्लाहरुमा रहेको कृषिको अपार सम्भावनालाई ध्यान दिई खेतमा सिँचाइ गर्न विद्युत् महसुलमा सहुलियत दिएर प्रतियुनिट दुई रुपैयाँ मात्र कायम गरिएको उल्लेख गरे ।
घिसिङले मधेस प्रदेशमा औद्योगीकरण र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, सुरक्षित र गुणस्तरीय बनाउन ठूला क्षमताका प्रसारण तथा वितरण संरचनाको विस्तार एवं सुदृढीकरण भइरहेको दाबी गरे।