अन्तर्राष्ट्रिय पर्वत दिवस
पृथ्वीमा जैविक अस्तित्वबोध मानव जातिको काँधमा आइपर्नु स्वाभाविक हो। यो संकटमोचन गर्न औपचारिक पर्वतीय शिक्षा आजको आधारभूत आवश्यकता हो।
हिमालय क्षेत्रको केन्द्रमा ८०० किलोमिटर ओगटेर बसेको नेपाल संसारकै छानो सगरमाथासहित अग्ला हिमशृंखला भएको पृथ्वीको अतुलनीय भाग हो। यही कारण विशेषगरी नेपालीले हिमालको वास्तविक महत्त्व बुझ्न आवश्यक छ। जसका लागि हिमालसँग सम्बन्धित अध्ययन, अध्यापन एवं खोज अनुसन्धान गरी हिमाललाई उधिन्न जरुरी छ। यसका लागि कक्षाकोठाको आम सैद्धान्तिक पढाइले मात्र पुग्दैन। हिमाली जनजीवन, कला र संस्कृति, मानव सभ्यता, जैविक र भौगोलिक विशेषता, मौसम र यसले पार्ने प्रभाव र यसको स्थायित्वसम्बन्धी सम्पूर्ण पाटोलाई शैक्षिक कार्यक्रमहरूमा समेट्न आवश्यक छ। जुन आवश्यकता पूरा गर्ने पहिलो र प्राथमिक सर्त हो, पर्वतीय शिक्षा।
सुरक्षित पर्वतारोहण र पर्वतीय पर्यटन
हिमालसँगै जोडिने विषय पर्वतारोहण पनि हो। र, पर्वतारोहण केवल शारीरिक अभ्यास होइन, मानसिक अभ्यास पनि हो। कठिन परिस्थितिमा क्षणभरमै निर्णय लिनुपर्ने, सम्भावित जोखिमको सही आकलन गर्नुपर्ने, थकान, एक्लोपन र तनावसँग लड्नुपर्ने हुँदा पर्वतारोहणका लागि मानिस मानसिक रूपले परिपक्व हुन जरुरी हुन्छ। उपयुक्त सैद्धान्तिक र व्यावहारिक पर्वतीय शिक्षाले मात्र शारीरिक र मानसिक रूपले मानिसलाई सक्षम बनाउन सक्छ।
यसका साथै उच्च हिमाली भेगमा देखा पर्नसक्ने एक्युट माउन्टेन सिकनेस, हाई अल्टिच्युड पल्मनेरी एडिमा, हाई अल्टिच्युड सेरिब्रल एडिमा, हाइपोथर्मिया, फ्रस्टबाइटजस्ता गम्भीर स्वास्थ्य समस्याको पूर्वानुमान गरी जोखिम न्यूनीकरणका लागि पनि पर्वतीय शिक्षा र तालिम अत्यन्त आवश्यक हुन्छ।
यस्तै, पर्वतारोहणका अनुशासन, आवश्यक उपकरण छनोट, उपयोग, सहयोग र सहकार्यजस्ता सामाजिक मूल्यहरू जान्न पनि पर्वतीय शिक्षाले मद्दत गर्दछ।
बर्सेनि हजारौँ विदेशी पर्यटक नेपालका हिमाल चढ्न आउँछन्। जसका लागि प्रशिक्षित अन्तर्राष्ट्रियस्तरका माउन्टेन गाइड, क्लाइम्बिङ शेर्पा, उच्च हिमालमा काम गर्ने भरिया, भान्से, स्वास्थ्य टोली, डोरी टाँग्न दक्ष प्राविधिक, उद्धारकर्ता, मौसमविद्हरूको आवश्यकता पर्छ। यस्तो जनशक्तिले पर्वतीय पर्यटनलाई अझ सुरक्षित बनाउँदै रोजगारी, उद्यमशीलता र आम्दानीको आयाम झन् फराकिलो बनाउँछ। यसरी हेर्दा आर्थिक रूपले पनि पर्वतीय शिक्षाको विशिष्ट महत्त्व छ।
यद्यपि, हिमाल पर्वतीय शिक्षा आरोहणसँग मात्र सम्बन्धित छैन, समग्र जीवनचक्रसँग सम्बन्धित छ। प्राणी तथा वनस्पतिहरूको जीवनलाई चलायमान बनाउने जैविक आधार नै हिमाल हो। त्यसैले जैविक विविधता, हिमनदी, जलचक्र र मौसम परिवर्तनको संवेदनशीलता थाहा पाउन र वातावरणप्रति सचेत हुन पर्वतीय शिक्षा आवश्यक हुन्छ। पर्वतीय शिक्षाबाट दीक्षित नागरिकले ‘लिभ नो ट्रेस’ जस्ता सिद्धान्त समाजमा स्थापित गराउन सहयोग गर्छन्।
हिमाली संकट समाधानको माध्यम
पृथ्वीका विभिन्न भागको अवस्थाअनुसार कुनै स्थानमा छिटो वातावरणीय प्रभाव देखा पर्छ भने कुनैमा ढिलो। छिटो प्रभाव पर्ने र सबैभन्दा बढी जोखिमयुक्त भाग हो- हिमाल। उच्च रूपमा तापमान वृद्धिका कारण हिमालमा रहेको हिउँ पग्लिन गई हिमालहरू काला चट्टानमा परिणत हुँदै गएका छन्।
यस्तै, पानीको भण्डारका रूपमा रहेका हिमनदी र हिमताल पग्लिने क्रम तीव्र रूपमा बढेको छ। हिमतालहरू उच्च जोखिममा छन् र फुट्ने क्रम जारी छ। यी तालहरूको विस्फोटनले गर्दा तल्लो भेगका बस्तीहरू बढी पीडित भइरहेका छन्।

कञ्चनजंघा हिमशृंखलामा पर्ने ७,३५० मिटर अग्लो गिमिगेला हिमाल। तस्बिर : नेपाल हिमाल पिक प्रोफाइल
हिमाल पग्लिएर पानीको मात्रा बढ्दा समुद्रको सतह पनि बढ्दै छ। समुद्री तटका देश र मानव बस्तीहरू संकटमा छन्। अर्कातर्फ, हिमालको अस्तित्व संकटमा पर्नु भनेको जीवको अस्तित्व संकटमा पर्नु हो। संसारको आधा जनसंख्याका लागि चाहिने पानीको आपूर्ति गरिरहेका हिमालमा मौज्दात पानीको भण्डार रित्तिएको अवस्थामा मानव जातिको भविष्य के होला? मानव जाति मात्र होइन, हिमाली पानीको स्रोतमा आश्रित अन्य जीवहरूको अवस्था के होला? वनस्पतिको हालत के होला? यस्तो अत्यासलाग्दो स्थितिबाट पृथ्वीलाई जोगाई जीवहरूको अस्तित्व संरक्षण गर्नु आजको मानवीय आवश्यकता र चुनौती हो।
तर, हिमाललाई आइलागेको र समग्र जीवलाई संकटतिर धकेल्ने यो विकराल समस्याको समाधान कुनै एक देश वा आसपासको भौगोलिक क्षेत्रको क्षमताभन्दा बाहिर छ। यसको समाधान पूर्ण विश्वको सामूहिक जिम्मेवारीबाट मात्र सम्भव छ।
पृथ्वीमा जैविक अस्तित्वबोध मानव जातिको काँधमा आइपर्नु स्वाभाविक हो। यो संकटमोचन गर्न औपचारिक पर्वतीय शिक्षा आजको आधारभूत आवश्यकता हो।
यसका साथै पृथ्वीलाई वातावरणीय हिसाबले पुनर्जीवित गर्न मानवीय गतिविधिहरू भूगोलमैत्री बनाउनुपर्ने हुन्छ। यसका लागि भौगोलिक विशेषताअनुसारको शिक्षा प्रणाली आवश्यक पर्छ। जसकारण, पर्वतीय शिक्षालाई नेपालजस्तो हिमालको ठूलो बैंक भएको मुलुकमा माटोसुहाउँदो शिक्षा मान्न सकिन्छ।
राष्ट्रिय सुरक्षा र पहिचानको दृष्टिकोणबाट पनि पर्वतीय शिक्षा औचित्यपूर्ण छ। पर्वतीय शिक्षाबाट दीक्षितहरूले अन्तरदेशीय पर्यटन, सीमा सूचना आदानप्रदान, पर्वतीय कूटनीति, नदी अर्थात् पानी कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा जानकार भई देशको अन्तर्राष्ट्रिय पहिचान बढाउन सक्छन्।
नेपालमा पर्वतीय शिक्षा
पर्वतीय शिक्षाको आवश्यकता बोध गरी नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहने गरी नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको स्थापना गरेको छ। यस प्रतिष्ठानले आवश्यकताअनुसार शैक्षिक तथा तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायबाट सम्बन्धन प्राप्त गरी चारवर्षे ब्याचलर्स अफ माउन्टेनियरिङ स्टडिज (बीएमएस) र दुईवर्षे मास्टर्स अफ एड्भेन्चर टुरिज्म स्टडिज (एमएटीएस) कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यी दुवै कार्यक्रममा सैद्धान्तिक ज्ञानका अतिरिक्त हिमाल र साहसिक क्रियाकलापसँग सम्बन्धित विषयहरूको फिल्ड अध्ययन तथा पाँच हजार, ६ हजार र सात हजार मिटर अग्ला हिमाल आरोहणसहित प्रयोगात्मक कक्षाहरू सञ्चालन गरी विद्यार्थीलाई व्यावहारिक रूपले समेत दक्ष बनाउने गरिन्छ।

पर्वतीय प्रशिक्षक प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी। तस्बिर : फेसबुक
यसका अलावा त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायबाट सम्बन्धन प्राप्त गरी माउन्टेन एन्ड माउन्टेनियरिङ साइन्समा एमएस्सी तह पनि सञ्चालनमा छ।
शैक्षिक कार्यक्रमका अतिरिक्त प्रतिष्ठानले विभिन्न छोटा अवधिका तालिम पनि सञ्चालन गरिरहेको छ। ट्रेकिङ गाइड, हाई माउन्टेनियरिङ क्लाइम्बिङ सपोर्ट गाइड, एसपाइरेन्ट गाइड कोर्स, माउन्टेन गाइड कोर्स, स्की, रक क्लाइम्बिङ, बेसिक माउन्टेन रेस्क्यु, माउन्टेन नेभिगेसन, माउन्टेन सेफ्टी एन्ड फर्स्ट एड, रोप एन्ड रेस्क्यु, माउन्टेन बाइक गाइडजस्ता हिमाल र साहसिक गतिविधिसँग सम्बन्धित तालिमहरू पनि सञ्चालित छन्।
यी तालिमले दक्षता अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूले फिल्डमा आधारित उच्च आम्दानी हुने काम पाइरहेका छन्। अर्कातर्फ, स्वदेश तथा विदेशबाट प्रशिक्षित दक्ष जनशक्तिको सहभागिताका कारण हाल पर्वतीय पर्यटन सुरक्षित बन्दै गएको पाइन्छ।
हिमालको छहारीमा ‘डिजिटल नोम्याड’ का रूपमा स्थापित भई मानसिक र शारीरिक तन्दुरुस्तीका साथ जिउने उपकरण पर्वतीय शिक्षा बन्नसक्छ। प्राप्त ज्ञानलाई सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा बजारीकरण गर्दै संसारको ध्यान हिमालतिर तान्न सकिन्छ। हिमाली गन्तव्य बिक्री गरी मनग्य आम्दानी गर्न सकिन्छ। अर्कातर्फ, हिमालको अस्तित्व जोगाउन प्रयत्नशील र जिम्मेवार बन्न सकिन्छ।
उल्लिखित विविध कारणले गर्दा अहिलेको युगमा पर्वतीय क्षेत्रको अध्ययन आवश्यक मात्र होइन, अनिवार्य भएको छ।
– लेखक नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका क्याम्पस प्रमुख हुन्।