युरोपियन युनियनको मुख्यालयमा युरोपेली संघका देश, साझेदार देशका स्थानीय तह र साझेदार क्षेत्रका अधिकारीबीच छलफल
काठमाडौँ। काठमाडौँ महानगरपालिका उपप्रमुख सुनीता डंगोलले अन्तर्राष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकार र सहरहरुलाई साक्षी प्रतिनिधिका रुपमा नभई निर्णायक भूमिकासहित प्रतिनिधित्व गराउनुपर्ने बताएकी छन्।
२२ देखि २४ मंसिर (८-१० डिसेम्बर) सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपियन संघको मुख्यालयमा आयोजना गरिएको अन्तर्राष्ट्रिय साझेदारीका लागि सहर र क्षेत्र २०२५ मञ्च (सिटिज् एन्ड रिजन्स फर इन्टरनेसनल पार्टनरसिप्स २०२५ फोरम) मा प्रस्तुतीकरण गर्दै उनले यस्ता कार्यक्रममा स्थानीय सरकारलाई शक्ति, स्वामित्व र निर्णायक भूमिकासहितको सहभागिता गराउनुपर्ने बताइन्। “यस्ता योजनामा प्रतिनिधित्व गराउने विगतको परम्परागत विधि सच्याएर नयाँ रणनीतिक योजनासहित अगाडि बढ्नु अहिलेको आवश्यकता हो‚” उनले भनिन्।
उनले भौतिक पूर्वाधार विकासलाई संरचना बनाउने कामका रुपमा हेर्न नहुने बताएकी थिइन्। ‘यी संरचनालाई स्थानीय सामाजिक तथा सांस्कृतिक मूल्य मान्यतासँग जोड्नु पर्छ। अनि मात्र स्थानीयले स्वामित्व ग्रहण गरेको दिगो विकास हुन्छ। यसका लागि प्रोजेक्ट डिजाइनिङ चरणदेखि नै स्थानीयको सार्थक सहभागिता चाहिने हो‚” उनले भनिन्‚ “यसअघि अन्तर्राष्ट्रिय साझेदारी र लगानीका अधिकांश योजना कार्यान्वयनको चरणअगाडि स्थानीय सहभागिता देखिँदैन। सबै निर्णय भइसकेपछि तोकिएको ढाँचाभन्दा बाहिर आउन नसक्ने अवस्थामा स्थानीयलाई सहभागी गराउने पद्धति केवल औपचारिकताका लागि मात्र हो। यसले योजनासँग स्थानीय अपनत्व जोड्न सक्दैन। स्थानीय सहभागिताको नारा केवल भाव विनाको अक्षर मात्र हुन्छ। विकासमा स्थानीयपन जोड्न लोकतान्त्रिक विधिबाट विकेन्द्रीकरणमा आधारित सहभागिता सुनिश्चित हुने रणनीति बनाउनुपर्छ।” उनले ग्लोबल गेट वेको सफलताका लागि चारबुँदे सुझाव पनि दिइन्। उनले भनिन्‚ “अर्थपूर्ण सहभागिता, उत्थानशीलता (रिजिलियन्ट), स्थानीय मूल्यसँगको सम्बन्ध र समुदाय केन्द्रित स्थानीयकरण नतिजा प्राप्तिका स्तम्भ हुन्। यी स्तम्भलाई सन्तुलित उपयोग गर्नुपर्छ।”

विकासको दिगोपनाका आयाममा चर्चा गर्दै उपप्रमुख डंगोलले कसैलाई परनिर्भरतामा पार्ने गरी परियोजना सञ्चालन गर्न नहुने बताइन्। “परनिर्भरतामा आधारित विकासले सुखभन्दा दुःख प्रदान गर्छ। कसैलाई मर्म पार्ने गरीको विकास हुनुहुँदैन‚” उनले भनिन्।
युरोपेली संघका देश, साझेदार देशका स्थानीय तह र साझेदार क्षेत्रका अधिकारी सहभागी भएको कार्यक्रम ग्लोबल गेटवे लगानी रणनीतिको स्थानीयकरण विषयमा केन्द्रित थियो। त्यस अवसरमा नेपालबाट उपप्रमुख डंगोल, चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी र वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल (भण्डारी) सहभागी थिए।