काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।
त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा बिहीबार भएको क्वालिफायरमा २ मा लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले पराजित गरेको हो। लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनायो।
योसँगै लुम्बिनीले विराटनगरविरुद्ध शतप्रतिशत जित हात पार्यो। लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो। यता सुदूरपश्चिम भने क्वालिफायरमा विराटनगरलाई नै ७७ रनले हराउँदै फाइनलमा पुगेको हो।
विराटनगरका साम हेजलेटले सर्वाधिक ३४ रन बनाए। २८ बल खेलेका उनले समान २ चौका र छक्का प्रहार गरे। नरेन भट्टले २१ रन बनाउँदा मार्चेन्ट डे लेङ्गे १७ रनमा आउट भए। अन्यको ब्याटिङ चल्न सकेन।
लुम्बिनीका तिलक भण्डारीले सर्वाधिक ३ विकेट लिए। अभिषेक गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानको नाममा समान २ विकेट रह्यो। शेर मल्लले १ विकेट आफ्नो नाममा राखे।