म्याग्दी। जिल्लाको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका वकिल केसीले बेनी नगरपालिका–९ गलेश्वरधामको गलेश्वर पुलस्त्यपुलह अन्न क्षेत्रलाई रु एक लाख प्रदान गरेका छन्।
अन्न क्षेत्रले ज्येष्ठ नागरिक, तीर्थयात्री, विपन्न तथा बेसाहारालाई निःशुल्क भोजनको व्यवस्था गर्दै आएको छ। गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममका ज्येष्ठ नागरिक तथा जडभरत शालीग्राम संस्कृत विद्यालयका विद्यार्थीलाई सोही रकमबाट बुधबार भोजन गराइएको थियो।
ज्येष्ठ नागरिक र विद्यार्थी भोजनमा रु २४ हजार खर्च भएको र बाँकी रकम आज अन्न क्षेत्रको बैंक खातामा जम्मा गरिने जनाइएको छ।
अन्न क्षेत्रले गौशाला सञ्चालनका साथ आश्रममा आश्रित ४० जना ज्येष्ठ नागरिक र संस्कृत विद्यालयका पाँच जना वटुकलाई दैनिक भोजनको व्यवस्था गर्दै आएको छ।