काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितमा सहभागिता जनाउन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिइन्।
प्रधानमन्त्री कार्कीले झापाका सुश्रुत दाहाल र दोलखाका आशिष फुयालसँग सरकारीनिवास बालुवाटारमा भएको भेटमा सफलताको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ। “अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाउने गरी खेल्नुहोला, मेरो शुभकामना छ,” प्रधानमन्त्री कार्कीले भनिन्।
खेलाडीद्वय दाहाल र फुयालले ६ दशकको इतिहासमा यो प्रतियोगितामा नेपालको सहभागिता हुनु नै ठूलो कुरा रहेको बताए। उनीहरुले सक्दो राम्रो खेल्ने प्रतिबद्धता पनि जनाए।
र्यापिड र ब्लिट्ज क्याटागोरीमा हुन लागेको चेस च्याम्पियनसिपमा नेपाल पहिलोपटक सहभागी हुन लागेको हो। प्रतियोगिता यही २५ देखि ३१ डिसेम्बरमा हुँदै छ।