काठमाडौँ। मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज (बिहीबार) निधन भएको छ।
सहिदगेटमा स्थापित राजा त्रिभुवनको सालिकसँगै सहिद गंगालाल श्रेष्ठ, दशरथ चन्द ठाकुर, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको सालिक तथा त्यहाँ रहेका चारवटा तस्बिर तुलाधरकै सिर्जना हुन्।
त्यसैगरी टुँडिखेलको सैनिक मञ्चमा रहेका ६ सिपाहीको सालिक, बनेपा चौबाटोमा रहेको त्रिभुवनको सालिक, शोभाभगवतीमा रहेको अर्धकदको गणेशमान सिंहको सालिक तथा त्रिमूर्ति (लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र बालकृष्ण सम)का सालिक तुलाधरकै कलाकारिताका नमुना हुन्।
वि.सं. १९९२ मा काठमाडौँको यट्खा टोलमा जन्मिएका तुलाधरका चार छोरा र तीन छोरी छन्।