भादगाउँ। चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित ताथली गढी र मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ।
स्थानीय इतिहास, प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैली नजिकबाट नियाल्न चाहनेहरू यो क्षेत्रमा आकर्षित भएका हुन्।
ताथलीगढी क्षेत्र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यहाँ पुरातात्विक महत्वका सम्पदाका अवशेष पाइएका छन् । यहाँको आइतबारे र ठूलोपाखा वनस्थित गढीबाट काठमाडौँ उपत्यका, बनेपा र काभ्रेका विभिन्न भाग देख्न सकिन्छ।
यहाँ दैनिक सयौँ आन्तरिक पर्यटक आउने गरेका चाँगुनारायण नगरपालिका–९ का वडासदस्य विद्यापति थापा बताउँछन्। विशेष गरी शुक्रबार र शनिबार बढी घुइँचो लाग्ने गरेको छ। हलालगाउँको भ्रमण गर्ने पनि बढेका छन्।
उक्त स्थानमा निर्मित हलालगाउँ–ताथली गढीको सिँढीले पनि पर्यटकलाई आकर्षित गरेको चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यात बताउँछन्।
गढीबाट देखिने मनमोहक दृश्य हेर्न, पदयात्राका निम्ति उपयुक्त स्थल र स्थानीय संस्कृति बुझ्न पनि आन्तरिक पर्यटक आउने गरेका उनी बताउँछन्। त्यहाँका ३०० सिँढीले पनि पर्यटक तानिरहेका उन्को कथन छ।
उक्त स्थानको सल्लाघारी वन, विभिन्न प्रजातिका चराचुरुङ्गीको ध्वनि, मनोरम वातावरणले एकान्तप्रेमी उल्लेख गर्दै करिब थप सौन्दर्य बढाएको बताए।
आगन्तुक बढेसँगै वडा कार्यालय, वन उपभोक्ता समिति र स्थानीयले सरसफाइ, विश्रामस्थलजस्ता आधारभूत पूर्वाधार सुधार निर्माणसँगै प्रचारप्रसार पनि थालेका छन्।
दृश्यावलोकनका निम्ति ‘भ्यू टावर’ पनि निर्माण भइरहेको छ। गढी क्षेत्रको दिगो विकासका लागि गुरूयोजना तयार भएको वडाध्यक्ष त्यातको कथन छ।