काठमाडौँ
००:००:००
२५ मंसिर २०८२, बिहीबार

२५ मंसिर २०८२
अ+
अ-

चितवन। चितवनको नारायणी कला मन्दिरमा आज (बिहीबार) देखि ‘चित्तौन कचेहेरी’को तेस्रो संस्करण सुरु भएको छ।

तीन दिन (२५-२७ मंसिर) चल्ने यो विचार, साहित्य र बहसको उत्सवमा कविता, गजल, नाटक, बहस तथा विद्वत् प्रवचनका विविध कार्यक्रम समावेश छन्।

उद्घाटनका दिन कविता र गजल वाचनको विशेष सत्र छ। २६ र २७ गते १५ वटा गम्भीर बहस तथा मन्थन सत्र आयोजना हुनेछन्। उत्सवको मुख्य आकर्षणका रूपमा भारतकी ख्यातिप्राप्त आदिवासी कवि तथा चिन्तक जसिन्ता केरकेट्टाको विद्वत् प्रवचन रहनेछ।

उत्सवकै सत्रमा जसिन्ता केरकेट्टा, मनोज बोगटी र अरिफ राजाका कविताहरूमा आधारित ‘SHHH! Big Brother Is Watching You…’ नाटक मञ्चन हुँदै छ।

आयोजक तथा संस्थापक निर्देशक सरिता तिवारीका अनुसार यसपटक उत्सवको केन्द्रविन्दु २३-२४ भदौमा भएको विद्रोह, त्यसले निम्त्याएको राजनीतिक-सामाजिक उथलपुथल र भावी कार्यदिशाबारे मन्थन हुनेछ। कचेहेरीमा भुइँमान्छेका आवाज, सरोकार र पीडालाई प्राथमिकताका साथ समेटिने जनाइएको छ।

नेपाल र भारतका गरी ५० भन्दा बढी विद्वान्, विश्लेषक, राजनीतिज्ञ, अभियन्ता, साहित्यकार र पत्रकार वक्ता, सहजकर्ता तथा प्यानलिस्टका रूपमा सहभागी हुँदै छन्। बेटर चितवन र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा भएको उत्सवमा ४५ भन्दा बढी संस्थाले सहकार्य गरेका छन्।