काठमाडौँ
००:००:००
२५ मंसिर २०८२, बिहीबार

मानव बेचबिखन तथा ओसारपसार

नेपालीलाई म्यानमार लगेर साइबर ठगीमा लगाउने गिरोह समातियो

२५ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपालबाट म्यानमारमा मानव तस्करी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ साबिक खार्तम्छा गाविस ९ का ४१ वर्षीय मणिराज राई र सर्लाही दुलुवा भर्दौल गाउँपालिका ९ का २४ वर्षीय रन्जितकुमार महतो छन्।

महतोलाई बुधबार र राईलाई बिहीबार पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीले बताए।

पंगेनीका अनुसार हालै म्यानमारले ४७ नेपालीलाई डिपोर्ट गरेको थियो। डिपोर्ट भएर आएकामध्येबाट दुईवटा जाहेरी परेपछि महतो र राई पक्राउ परेका हुन्।

“नेपालबाट मानव तस्करहरूले संगठित रूपमा भारत, थाइल्यान्ड हुँदै म्यानमारको मेवाडी केकेआई पार्कमा लगेर बेचबिखन गर्ने, बन्धक बनाएर साइबर ठगीमा संलग्न गराउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,” एसएसपी पंगेनी भन्छन्, “गत आवमा ब्युरोमा १६ वटा त्यस्ता मुद्दा दर्ता भएर अनुसन्धान भएका थिए।” १६ मध्ये कम्बोडिया ४, लाओस ३ र म्यानमारमा बन्धक बनाएर साइबर ठगीमा संलग्न गराएका ९ वटा मुद्दा थिए।

तस्करहरूले सुरूमा नेपाली आईटी क्षेत्रमा काम हुने भन्दै थाइल्यान्ड लैजान्थे। त्यहाँबाट ३६ घण्टा कार यात्रा गराई केकेआई पार्कमा पुर्‍याउँथे।

“कम्पनीमा पुर्‍याएपछि ब्रिफिङमा यहाँ अबदेखि तिमीहरूको काम विभिन्न देशका मानिसहरूसँग कुराकानी गरी बिटक्वाइनमा लगानी गर्न, लभ अफेयरमा पार्न प्रेरित गर्नु रहेको भनर जानकारी गराउँथे,” पंगेनी भन्छन्, “ग्राहकहरू खोज्न के-के कुरा बोल्ने, कसरी च्याट रिप्लाई गर्ने, कसरी ग्राहकलाई ट्रयापमा पार्नेजस्ता कुराको तालिम दिने गर्थे।”

म्यानमार पुर्‍याउने गिरोहले काम गर्ने क्रममा टार्गेट दिने र सो हासिल गर्न नसकेमा शारीरिक थकान हुने सजाय दिन्थे। त्यस्तो सजायमा पानीको जार बोकेर भर्‍याङ तलमाथि गर्न लगाउने, खुट्टाले शरीरमा कुट्ने, करेन्ट लगाउने, अँध्यारो कोठामा थुन्ने र फ्रग जम्प पर्थे।

काम मन नपरे र त्यहाँबाट निस्किन खोज्दा आठ लाख रुपैयाँ नेपाली बुझाउन लगाउने अन्यथा जान नदिने भन्दै बन्धक बनाएर काममा लगाउने गरेका थिए। “टार्गेट हासिल गर्न दिनको १८ घण्टासम्म काममा लगाउने गरेको पीडितले बताएका छन्,” पंगेनीले भने।

नेपालीलाई म्यानमार लैजाने गिरोहका अन्य सदस्यहरूको खोजी भइरहेको छ। यसमा नेपालका साथै अन्तर्राष्ट्रियस्तरमा तस्करको सञ्जाल सक्रिय रहेको देखिएपछि प्रहरीले अनुसन्धान थालेको छ। पंगेनीका अनुसार डिपोर्ट भएका अन्य व्यक्तिहरूको खोजी थालिएको छ।

गिरोहबाट भाग्ने क्रममा नेपालीहरू म्यानमारमा गैरकानुनी रूपमा पुगेको आरोपमा पक्राउ परेका थिए। पक्राउपछि म्यानमारले डिपोर्ट गरेको थियो।