काठमाडौँ। बेलायतको म्यानचेस्टर सहरमा काम लगाइदिने भन्दै ४८ जनालाई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमाकाठमाडौं महानगरपालिका-२७ का ५१ वर्षीय अनुपकुमार सिंह र दोलखा मेलुङ गाउँपालिका-७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठ रहेका छन्।
ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्दै आएका सिंह र भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्दै आएका श्रेष्ठलई झापा मेचीनगर नगरपालिका-१० धुलाबारीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरी उपरीक्षक काजीकुमार आचार्यका पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ।
आचार्यका अनुसार पक्राउ परेकामध्ये सिंह महाबज्रयोगिनी एक्पोर्ट एण्ड इम्पोर्ट प्रालिको सञ्चालकका साथै आफूलाई पूर्वराजा ज्ञानेन्द्रको भान्जा नाता पर्ने बताउँथे।
उनले बेरोजगार युवायुवतीलाई म्यान्चेस्टर सहरमा सञ्चालित मिडल्याण्ड होटलमा काम लगाइदिने भनी उक्त होटल र रोयल बिजनेस टीमबीचको नक्कली रोजगार सम्झौता पत्र बनाउँथे।
यसैगरी, सिंहले बेलायती दूतावास काठमाडौँको नक्कली पत्र, नक्कली भिसा, नक्कली हवाई टिकट लगायतका कागजात देखाउँथे। आचार्यका अनुसार त्यस्ता कागजात देखाएर सिंह र श्रेष्ठले ४ करोड ३९ लाख ५१ हजार ५५८ रुपैयाँ ठगी गरेको देखिएको छ।
सिंहलाई गत वर्ष प्रहरी परिसर ललितपुरले पक्राउ गरेको थियो। ठगी मुद्दामा पक्राउ परेका उनी धरौटीमा छुटेका थिए।
“पूर्वराजपरिवारको नाम लिएर मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंहसमेतले युके, अमेरिका पठाइदिने भनी ठगी गरेको पाइएको छ, ठगीका अन्य पीडितलाई कागजातसहित निवेदन दिन अनुरोध गरेका छौँ,” आचार्यले भने।