२७ मंसिर २०८२
अ+
अ-

बारा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाराको मटिअर्वा–मानमतअन्तर्गतको साढे तीन किलोमिटर सडक निर्माण छिट्टै सुरु गर्ने बताए।

उनले कलैयाको सडक निरीक्षण गर्दै सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा ठेकेदारले नसकेको अवस्थामा ठेक्का तोडेर भएपनि चाँडोभन्दा चाँडो सो सडक निर्माण अगाडि बढाउने प्रतिबद्धता जनाए।

“नागरिकले वर्षायाममा भोग्दै आएको समस्यालाई हामीले बुझेका छौँ। त्यसैले यो सडक निर्माणतर्फ म निकै संवेदनशील छु”, मन्त्री घिसिङले भने। आजै मन्त्री घिसिङले महागढी नगरपालिकाको शक्तिपीठ गढीमाई मन्दिरमा पुजापाठ गरेका थिए।

भारतीय निर्माण कम्पनी भिस्वा कन्ट्रक्सनले २०६८ सालमा बाराको मटिअर्वा–मानमतअन्तरगतको २७ किलोमिटर सडक कालोपत्रे सुरु गरेको थियो। हुलाकी मार्ग आयोजनाअन्तर्गत तत्कालीन समयमा कम्पनीले २३ किलोमिटर मात्रै कालोपत्र गरी साढे तीन किलोमिटर अधुरै छाडेको थियो। त्यसयताका १४ वर्षमा कालोपत्र गर्न बाँकी सडक हालसम्म अलपत्र छ।

पछि आशीष÷डिएस जेभीले २०७३ कात्तिक ३ मा ठेक्का लिए पनि निर्माण सम्पन्न गरेन। पछिल्लो कम्पनीले दुई वटा प्याकेजमा ठेक्का लिएको थियो। पहिलो प्याकेज २३ करोड ७३ लाख ४२ हजार रुपैयाँ र दोस्रो प्याकेज २२ करोड ४५ लाख ९३ हजार रुपैयाँमा ठेक्का लिएको थियो।

सप्तकोशी जलाधार÷ओम साइ एण्ड कम्पनीले २०७८ पुस २७ मा सो खण्डको ठेक्का लिएको थियो। कम्पनीले जम्मा १८ प्रतिशत मात्रै काम गरेको छ।

हुलाकी मार्ग आयोजना वीरगन्जका सूचना अधिकारी धर्मेन्द्रकुमार दासका अनुसार २२ करोड ३१ लाख ८६ हजार रुपैयाँमा ठेक्का लागेकोमा चार करोड १५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।