मधेसका अधिकांश पुल निर्माण अलपत्र
रौतहट। मधेस प्रदेशका रौतहट र सर्लाहीका विभिन्न ठाउँमा पुल समयमै निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दा सास्ती बेहोर्न बाध्य छन्। पुल निर्माणका लागि ठेक्का लगाए पनि काम हुन नसक्दा पुल निर्माण अलपत्र छ।
रौतहट र सर्लाही जिल्ला जोड्न बागमती नदीमा दुईवटा पुल तोकिएको सयमा निर्माण नभई अलपत्र हुँदा यात्रु वर्षौंदेखि जोखिमपूर्ण एवं कष्टकर यात्रा गर्न बाध्य छन्। जनजीवन प्रभावित भएको छ। दुवै पुलले सर्लाही र रौतहट मात्र नभए पर्सा‚ बारा‚ रौटहटलाई मधेस प्रदेशको राजधानी जनकपुरलाई जोड्नेछ।
भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले शुक्रबार साँझ पुल निरीक्षण गरी निर्माण प्रगतिबारे जानकारी लिए। पुल नहुँदा बेहोर्नुपरेको समस्याका विषयमा स्थानीयसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ।
पुल नबन्दा आमजनताको हरेक दिन बेहोरिरहेको समस्या देख्दा आफूलाई दुःख लागेको उल्लेख गर्दै मन्त्री घिसिङ आफू मन्त्री पदमा रहे या नरहे पनि खबरदारी गरिरहने बताए। मन्त्री घिसिङलाई स्थानीयले पुल तत्काल निर्माण सम्पन्न गर्नका लागि पहल गर्न आग्रह गरेका थिए।
रौतहटको दुर्गाभगवती गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिका जोड्ने बागमती नदी (गंगा पिपरा) जोड्ने सात सय मिटर लामो पुल अलपत्र छ। पुल निर्माणका लागि असार २०७३ मा टुन्डी-रसुवा-पप्पु संयुक्त उपक्रम (जेभी)सँग ८६ करोड ३७ लाख रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो।
पछिल्लोपटक थपिएको ठेक्का सम्झौताको म्यादबमोजिम पुल निर्माण १३ कात्तिक २०८३ भित्र सम्पन्न गर्नुपर्नेछ। गत वर्षको असोजमा बागमती नदीमा आएको बाढीले पुलको एक स्पान र एक जग (फाउन्डेसन) बगाएको छ। पुलको निर्माण भौतिक प्रगति ८० प्रतिशत छ।
हुलाकी राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती (बडरवा) ६३४ मिटर लामो पुल निर्माणका लागि सुरुमा जेठ २०६७ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। साढे १२ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन। निर्माण व्यवसायीले काम गर्न नसकपछि पुरानो ठेक्का तोडी वैशाख २०७९ मा ६५ करोड १६ लाखमा नयाँ ठेक्का लगाइएको थियो।
साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकामा हाल निर्माण प्रगति २० प्रतिशत मात्र छ। ठेक्काको म्याद चैत २०८३ सम्म थपिए पनि निर्माण व्यवसायी निर्माणस्थलमा परिचालित छैनन्।
त्यस्तै रौतहटको चपुरबाट उत्तरतर्फस्थित गैंडाटार चाँदी पुल १० वर्षदेखि निर्माण अलपत्र छ। मकवानपुरको बकैया गाउँपालिका जोड्दै धरान-चतरा-हैटौँडा सडकखण्डसँग समेत जोड्न प्रयोग हुने पुल तीनपटक म्याद थपिए पनि अझै निर्माण भएको छैन। पुल निर्माण तत्काल सम्पन्न गर्न स्थानीयले अनशनलगायत विभिन्न विरोधका कार्यक्रम गरेका थिए। पुल निर्माणको ठेक्का पप्पु-शिवशंकर जेभीले पाएको थियो।