२७ मंसिर २०८२
अ+
अ-

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कुलमान घिसिङले आफूले लगाएको गुन बिर्सिएको बताएका छन्।

सुर्खेतमा शनिबार आयोजित पार्टीको एकता सन्देश सभामा उनले आफू प्रधानमन्त्री हुँदा घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएको र त्यो गुन उनले भुलेको बताए। “कुलमानले जुन थालमा खाए त्यही थालमा प्वाल पार्न थाले‚ लोडसेडिङबाट आक्रान्त भएको नेपाललाई लोडसेडिङमुक्त बनाउने ऐतिहासिक कार्य त हामीले गरेकै हो‚” उनले भने‚ “त्योबेला हामीले उनलाई दुई-दुईपटक ल्याएर कार्यकारी निर्देशक बनाएका हौँ। अहिले कुलमानले गुन बिर्सेर जुन थालमा खाए त्यहीँ थालमा छेद हाल्न खोजेका छन्।”

उनले आफ्ना विरुद्धमा नउभिन पनि घिसिङलाई आह्वान गरे। घिसिङ आफ्नो पछाडि बेइमानीका साथ हिँडेर पार नपाउने दाहालको भनाइ छ। “तिनले त्यसो नगरुन् भन्न चाहन्छु‚ कुलमानको बुद्धि फिरोस्। यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन्‚” दाहालले भने‚ “यसो गरे भने तिनलाई नेपाली जनताले धेरै माफ दिन्छन् जस्तो लाग्दैन ।”