काठमाडौँ। किरात समुदायले आफ्नो महान पर्व साकेला उधौली शनिबार काठमाडौंको टुँडिखेलमा मनाएको छ।
किरात समुदायले मंसिर पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने गर्छन्। किराती मान्यता उधौली सुरु भएपछि हिउँद सुरु हुने र लेकबाट वस्तुभाउ अनि चराचुरुंगी बेँसी बसाइ सर्ने समय भएको संकेतका रूपमा लिइन्छ। घरमा अन्नबाली भित्र्याइएको खुसीमा यो पर्व मनाइन्छ। उभौली भने अन्नको सह बसोस्‚ अनिकाल नलागोस् भन्ने कामनाका साथ मनाइन्छ।
उभौली र उधौली दुवैमा घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा पूजा गरेपछि ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ। भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने चलन छ।
साकेलामा दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोलो, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवती हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्छन्। संघीय राजधानी काठमाडौंमा शनिबार दिउँसो यस्तै दृश्य देखियो।
हेर्नुहोस् थप तस्बिर :









