एनपीएल मैझारो

लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि‚ ६ विकेटले पराजित हुँदै सुदूरपश्चिम उपविजेता

२७ मंसिर २०८२
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। सुदूरपश्चिम रोयल्समाथि रवाफिलो जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीए) को उपाधिमाथि कब्जा जमाएको छ। जितसँगै त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले ‘सेलिब्रेसन’ गरेको छ।

शनिबार भएको फाइनलमा लुम्बिनीले ६ विकेटको जित हात पारेको हो। सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। साथै प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत विजेता टिमलाई बधाईसँगै शुभकामना दिएकी छन्।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीले विजेता टोलीको तस्बिरसहित लेखेकी छन्‚ “नेपाल प्रिमियर लिगको च्याम्पियन लुम्बिनी लायन्सलाई बधाइ। राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम‚ आयोजक र समर्थकलाई धन्यवाद।”

जितसँगै लुम्बिनीले एक करोड १० लाख रुपैयाँ हात पारेको छ। लगातार उपविजेता बनेको सुदूरपश्चिमले भने ५१ लाखमा चित्त बुझाएको छ। सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

यो पनि…

लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

लुम्बिनीका ओपनरद्वय दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए। १३ बल खेलेका उनले १ चौका र ५ छक्का प्रहार गरे।

उनले पहिलो विकेटका लागि डी’ आर्सी शटसँग ५८ रनको साझेदारी गरेका थिए। उक्त साझेदारीसँगै लुम्बिनी जितनजिक पुगेको हो। शटले १४ रन थपे।

कप्तान रोहितकुमार पौडेलले १६ रन बनाउँदा निरोसन डिकवाला ११ रनमा अविजित रहे।

सुदूरपश्चिमका हेमन्त धामीले सर्वाधिक २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले समान १ विकेट राखे।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको थियो।

सुदूरपश्चिमका ईशानले सर्वाधिक ३३ रन बनाए। ५१ बल खेलेका उनले १ चौका प्रहार गरे। कप्तान दीपेन्द्रसिंह ऐरी १३ रनमा आउट हुँदा हर्मित सिंह र स्कट कुगुलेइनले समान १० रनको योगदान दिए।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट लिए। चार ओभर बलिङ गरेका उनले जम्मा १२ रन खर्चिए। अर्का बलरद्वय शेर मल्ल र रुबेन ट्रम्पलम्यानले पनि समान ३ विकेट लिए। तिलक भण्डारीले १ विकेट राखे।

हेरौँ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितपछि लुम्बिनीको खुसी :

यहाँदेखि मुनिका तस्बिरहरु : नेपाल प्रिमियर लिग