२७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट रंगशालामा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलोपटक उपाधि जित्ने होडमा सुदूरपश्चिम र लुम्बिनी आमनेसामने भएका छन् । यो संस्करणको लिगमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर सिधै फाइनलमा पुगेको हो ।

सुदूरपश्चिमको एनपीएलको फाइनमा दोस्रोपटक पुगेको हो । पहिलो संस्करणमा सुदूरपश्चिम फाइनमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

लुम्बिनी लायन्स भने पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मको यात्रा तय गरेको हो । सुदूरपश्चिमको प्लेइङ ११ मा कप्तान दीपेन्द्रसिंह ऐरीसहित आरिफ सेख, अविनाश बोहोरा, इशान पाण्डे, दीपक बोहोरा, विनोद भण्डारी, हेमन्त धामी, हरमित सिंह, सेलडन ज्याक्सन, स्कट कुगेलिइन र पुनित मेहरा छन् ।

त्यसैगरी लुम्बिनी लायन्सको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, अभिषेक गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, मोविन शुभ सिंह, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेट किपर) र डार्सी सर्ट छन् ।