२७ मंसिर २०८२
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनविन्दु आफू भएको दाबी गरेका छन्।

लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरूमा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकाले पछिल्लो परिस्थिति निर्माण भएको उनले बताए ।

आफूले कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०‚ प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि उनले गरे।

प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यसँग शनिबार विशालनगरस्थित कोइराला सम्पर्क कार्यलयमा भएको भेटघाटमा नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरुले पुर्याएको योगदानको सधैँ उच्च कदर हुने उनले बताए।

‘युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ’

देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै उनले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरुको अनुभवको सहयोगको खाँचो रहेको कोइरालाको भनाइ छ।

“सयौं योद्धा र युवाहरूको रगत पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ‚” उनले भने‚ “पार्टीभित्र मूल्य‚ मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ।”