अनुभूति

कुनै बेला भियतनाम युद्ध छल्न अमेरिकी युवाहरू भागेर नेपाल आउँथे, काठमाडौँका मानिस इमानदार थिए र परिवेश शुद्ध थियो, न्युरोडको पाकोमा छोडेको साइकल एक महिना जहाँको त्यहीँ हुन्थ्यो।

२७ मंसिर २०८२
अ+
अ-

काठमाडौँको तापक्रम घट्दै गएपछि बसाइ छोट्याएर केही दिनअघि मात्र सिलगढी आइपुगेँ। यसपालि किन हो, काठमाडौँ पहिलेजस्तो लागेन।

कुनै बेला क्या सान र वैभव थियो काठमाडौँको। तर किन हो, काठमाडौँले आफ्नो त्यो ओज गुमाउँदै गएको भान भयो।

हामी अंग्रेजहरूको पछि लाग्दै सुन्दरीजल पुग्थ्यौँ। राजनीति गर्नेहरूका लागि सुन्दरीजल त्यतिबेला तीर्थस्थलजस्तै थियो।

समय ठ्याक्कै थाहा भएन। २०१७ सालको आसपास हुनुपर्छ, मैले काठमाडौँमा पहिलो पाइला टेकेको। अहिलेजस्तो ठूल्ठूला घर थिएनन्। राणाहरूका छिटपुट केही महलबाहेक के नै थियो र काठमाडौँ! तर, काठमाडौँवासीमा यो ठाउँप्रति अपनत्वको जुन भाव थियो, त्यो गजबको थियो। त्यसले नै काठमाडौँलाई अन्य ठाउँभन्दा विशेष बनाएको थियो।

म दार्जिलिङमा पढ्दै थिएँ। यता, राजा महेन्द्रले मेरा बुवा (सन्तवीर लामा)लाई मानार्थ लेफ्टिनेन्टको पदवी दिनुभयो। यसपछि दार्जिलिङको सुखिया पोखरीबाट हामी काठमाडौँ सर्‍यौँ। साहिँलो दाजु जुद्धवीरले सिमलाको स्कुलमा पढ्नुभएको थियो। तुलसी गिरी मन्त्रिपरिषद्को उपाध्यक्ष हुँदा वैदेशिक विभागमा अंग्रेजी राम्रो बोल्ने, स्मार्ट युवाको खाँचो परेछ। राजाकै सिफारिसमा साहिँला दाजु परराष्ट्र मन्त्रालयमा काम गर्ने गरी नियुक्त हुनुभयो।

म स्कुले ठिटो। काम दिनभरि काठमाडौँ घुम्ने। ओहो उबेलाको काठमाडौँ! चारैतर्फ फाँटैफाँट। बुवाले ज्ञानेश्वरमा घर बनाउनुभएको थियो। घरको झ्यालबाट हेर्दा धरहरा आफ्नै आँखाअगाडि झुन्डिएजस्तो लाग्ने। काठमाडौँ उपत्यका हिमालको काखमा बसेजस्तै लाग्ने। मानिसहरू यति इमानदार थिए, त्यो कुरा गर्दा आज काल्पनिक लाग्न सक्छ। कसैलाई कसैप्रति रिसराग थिए।

म दार्जिलिङको स्कुलमा पढिरहेको फुच्चे केटो। टोले दाजुहरूसँग घुम्न जता पनि पुग्थेँ। टेलिभिजन पनि भित्रिनसकेको जमाना थियो, खेल्नु र घुम्नु नै समय कटाउने र मनोरञ्जनको मुख्य आधार थियो। अझै पनि याद आउँछ, हामी अंग्रेजहरूको पछि लाग्दै सुन्दरीजल पुग्थ्यौँ। राजनीति गर्नेहरूका लागि सुन्दरीजल त्यतिबेला तीर्थस्थलजस्तै थियो। नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायत कांग्रेसका नेताहरूलाई त्यहीँको बन्दीगृहमा थुनेर राखिएको थियो।

बेलायती महारानी आउने दिन कांग्रेस नेता गणेशमान सिंहका आफन्त पर्ने आवाका हाकिम नै ‘हेलो..हेलो…’ गर्दै गौचरन मैदानमा निस्किए। उनले नै टेबल टेनिसका दुई वटा ब्याट हल्लाउँदै विमानलाई पार्किङ गराए।

बुवा राजभक्त। हामी अल्लारे केटाहरू। काठमाडौँमा अहिलेजस्तो राम्रो बाटोघाटोको व्यवस्था भइसकेको थिएन। विमानस्थलबाट डिल्लीबजार हुँदै शीतलनिवास पुग्ने बाटो केही दिनअघि मात्र बनेको थियो, जब बेलायती महारानी नेपाल आउने खबर फैलियो। यसअघि काठमाडौँको सबैभन्दा लामो पिच सडक भनेकै न्युरोडको थियो। बेलायती महारानी आउने भएपछि डिल्लीबजार, बागबजार, घण्टाघर, टुँडिखेल हुँदै कान्तिपथ भएर शीतलनिवास पुग्ने सडकमा रातारात कालोपत्र गरियो।

बेलायती महारानी एलिजाबेथलाई स्वागत गर्न, स्वागत पनि के भन्नु, हेर्न काठमाडौँका सारा जनता ठूलो गौचरन पुगेका थिए। त्यतिबेला त्रिभुवन विमानस्थलको नाम ठूलो गौचरन थियो। गाईहरू जताततै चरिरहने। म पनि टोले दाजुहरूको लहैलहैमा बेलायती महारानीलाई हेर्न गौचरन पुगेको थिएँ।

विगतको कुरा सम्झँदा हाँसो उठ्छ। बेलायती महारानीको शाही विमान गौचरनमा अवतरण हुनुअघि मान्छेहरू लगाएर गाईहरू लखेटिए। तमासै भयो। मान्छेहरू एकातिर दौडिने, गाईहरू अर्कातर्फ। हामी भने बाहिर बसेर गाई लखेटेको हेरेर आनन्द लिने।

सफा विष्णुमती नदी र पृष्ठभूमिमा शिवपुरी डाँडामाथि देखिएको लाङटाङ हिमशृंखला। तस्बिर : टोनी हेगनको फोटोज् अफ काठमाडौँ भ्याली (१९५०-१९६०)

गाईहरू हटाएको केही घण्टापछि शाही विमान गौचरनमा अवतरण भयो। विमानस्थलमा अहिलेजस्तो आधुनिक बत्ती थिएन, न त थिए राम्ररी प्रशिक्षित कर्मचारी। विमानस्थलमा आकाशवाणीको एउटा टावर थियो। त्यहीँबाट संकेत प्राप्त गरेपछि टेबल टेनिसका दुई वटा ब्याट (एउटामा रातो रिबन र अर्कोमा हरियो लागेको) बोकेर हाकिमहरू विमानलाई कहाँ पार्किङ गराउने, त्यो संकेत गर्थे।

बेलायती महारानी आउने दिन कांग्रेस नेता गणेशमान सिंहका आफन्त पर्ने आवाका हाकिम नै ‘हेलो..हेलो…’ गर्दै गौचरन मैदानमा निस्किए। उनले नै टेबल टेनिसका दुई वटा ब्याट हल्लाउँदै विमानलाई पार्किङ गराए।

शाही विमान महारानी एलिजाबेथका श्रीमान् फिलिप्सले चलाएका रहेछन्। शाही परिवार विमानबाट उत्रिन नपाउँदै ती कर्मचारीले दुवै ब्याट भुइँमा राखेर ढोग्न पो थाले। बाहिर बसेर रमिता हेरिरहेका हाम्रा लागि रमाइलो क्षण थियो त्यो। कर्मचारीको व्यवहार देखेर बेलायती राजपरिवारलाई के लाग्यो होला, त्यो हामीलाई थाहा हुने कुरा भएन। तर, ब्याटलाई भुइँमा राखेर लम्पसार परेका नेपाली कर्मचारी देखेर प्रिन्स फिलिप्स ‘यो कुन सिग्नल हो’ भन्दै छक्क परे होलान् भनेर हामी खुब हाँसेका थियौँ।

त्यतिबेला काठमाडौँमा हेर्नलायक दुई वटा ठाउँ थिए, असन र न्युरोड। अरू सबै खेतैखेत।

बेलायती राजपरिवारलाई खुसी तुल्याउन राणाहरूले जस्तै राजा महेन्द्रले पनि चितवनमा शाही सिकारको व्यवस्था गरेका थिए। तर, फिलिप्स विश्व वन्यजन्तु कोषको अध्यक्ष नियुक्त भइसकेका थिए। त्यसैले उनले सिकार गर्न मानेनन्। वन्यजन्तु संरक्षणका लागि बनेको संस्थाकै प्रमुख रहेका व्यक्तिले सिकार गर्ने कुरै भएन। त्यसैले उनले आफ्नो ‘ट्रिगर फिंगर’ (बन्दुक चलाउने औँला)मा चोट लागेको भन्दै सिकार गर्ने कुरा टारेका थिए। उनले नेपाली राजालाई नरमाइलो नलागोस् भनेर भोलिपल्ट औँलामा टेप बाँधेर आएको भनिन्थ्यो।

हामी सानो गौचरनमा फुटबल खेल्थ्यौँ। घना बस्तीका कारण यसपालि त्यो ठाउँ खुट्याउनै गाह्रो पर्‍यो। फेरि त्यहीँ नयाँ खेल मैदान बन्दै रहेछ। राजा महेन्द्रका ज्वाइँ कुमार खड्गविक्रम शाह फुटबल खेल्न त्यहीँ आउँथे। हामी ‘खड्ग..खड्ग’ भनेर जिस्क्याउँथ्यौँ। पछि त राजाका ज्वाइँ बनेछन्। यसपछि जिस्क्याउने हिम्मत रहेन।

भुटानका पूर्वप्रधानमन्त्री (अन्तरिम) लेनी (लेन्डुप) दोर्जी पनि खेल्न त्यहाँ आउँथे। भुटानबाट राजनीतिक शरणार्थीका रूपमा नेपाल बसेका उनी पनि राम्रै फुटबल खेल्थे। उनी खेल्न दशरथ रंगशाला (हाम्रो पालामा ‘राष्ट्रिय रंगशाला’ भन्थे) पनि पुग्थे। त्यहाँ जाँदा भने असनतिरका मान्छेहरूले मुख छाड्थे। उनलाई साह्रै बिच्क्याउँथे। उनी रिसाएर दर्शकहरूलाई भन्थे– ‘यु वाना फाइट?’ (मसँग कुस्ती खेल्छौ?)

त्यतिबेला काठमाडौँमा हेर्नलायक दुई वटा ठाउँ थिए, असन र न्युरोड। अरू सबै खेतैखेत। डिल्लीबजारबाट सहर हेर्दा धानको खेत मात्र देखिने। रसियन जिप भर्खरै आउन थालेका थिए। कार फाट्टफुट्ट चल्थे। ल्यान्ड रोभर प्रायः देखिन्थ्यो। बेलायती सेनाको भर्ती अभियानअन्तर्गत पूर्वमा धरान निकै चर्चामा रह्यो। त्यहाँ चलेका केही गाडी बेलायती अधिकारीले हरेक वर्ष लिलाममा राख्थे। १०/१५ हजारमा ती गाडी बिक्री हुन्थे। तिनै गाडी पछि काठमाडौँ भित्रिन्थे।

काठमाडौँको अर्को रमाइलो पक्ष, पोडेहरू एक घरको सेप्टिक ट्यांकमा जम्मा भएको मल पाँच रुपैयाँमा किन्थे। यो खेतबारीमा मलका रूपमा प्रयोग हुन्थ्यो। अचेल त काठमाडौँमा कंक्रिट मात्र फलेको देखिन्छ।

यसपालि म काठमाडौँमै हुँदा जेन-जी आन्दोलन भयो। त्यहाँ प्रहरीले हजारौँको संख्यामा अश्रुग्यास र गोली चलायो। त्यति ठूलो संख्यामा स्कुले केटा र युवाहरू मारिए।

वसन्त लामा। तस्बिर : बिक्रम राई

मलाई अहिले पनि याद छ, जनमत संग्रहताका पहिलोपल्ट न्युरोड गेटमा प्रहरीले अश्रुग्यास चलाएको थियो। प्रहरीहरूसँग ढुंगा छेक्ने बन्दोबस्तीको सामान पनि थिएन। बाँस बुनेर ढुंगा छेक्न बस्थे। आन्दोलनकारी भूगोलपार्कतिरबाट दौडिएर आउँथे। प्रहरीहरूले लखेट्दै पछाडि धकेल्थे। दुई-तीन घण्टा यस्तै सिलसिला चलिरह्यो। पहिलोपल्ट अश्रुग्यास चलेको पनि यही बेला हो।

आन्दोलन हुँदा हामी न्युरोडमै थियौँ। प्रहरीले आकाशतिर ताकेर अश्रुग्यास छोड्यो। धुवाँको मुस्लो फुस्स निस्कियो। आन्दोलनकारी भागाभाग। प्रहरीले छोडेको त्यो अश्रुग्यास एक जना आन्दोलनकारीको ढाडमा गएर बजारियो। उसले आफूलाई गोली लागेको भन्ठानेछ। बाटोमा लम्पसार परेर ऊ अरू साथीलाई भन्न थाल्यो, ‘मलाई गोली लाग्यो, अब बाँच्दिनँ। घरमा सबैलाई सुनाइदिनू, म मरेँ भनेर।’

साथीहरू सबै अत्तालिए। भुइँमा हेर्दा त अश्रुग्यास रहेछ। न रगत, न चोटपटक। साथीभाइले उसलाई भने, ‘केही भएको छैन। उठ्।’

तर, ऊ मान्दै मान्दैन। उसको मनोविज्ञानमा परेको रहेछ, अश्रुग्यास भनेको पनि गोली नै हो, लागेपछि मान्छे मर्छ। केही गर्दा पनि ऊ उठ्न नमानेपछि साथीभाइले बोकेर पाको गल्लीको एउटा चेपमा लगेर सुरक्षित राखे।

काठमाडौँ त्यतिबेला स्वर्गजस्तै थियो। मन्दिरैमन्दिरको सहर। न्युरोड, पीपलबोटको मुनि जुत्ता पालिस गर्नेहरूको भीड जम्मा हुन्थ्यो। यसपालि पनि फाट्टफुट्ट देखेँ। त्यहाँ साइकल पनि भाडामा लिन पाइन्थ्यो, दिनको दुई रुपैयाँमा।

काठमाडौँमा हिप्पीहरू भर्खर आउन थालेका थिए। हिप्पी र अमेरिकी सहयोग नियोग पिसकोरका कर्मचारी थुप्रै आउँथे। यसले गर्दा साइकल भाडामा लगाउनेहरूको कमाइ राम्रो थियो।

हिप्पीहरू जताततै गाँजा उडाइरहेका हुन्थे। झोँछेको गल्ली गुलजार थियो। सानो पसलमा पनि मिलेर बस्थे। उनीहरूलाई सबैभन्दा अचम्म लाग्ने कुरा, गाँजा किनेको पैसा कसले तिर्‍यो, त्यो थाहा नै हुँदैनथ्यो।

एकदिन यस्तै एक जना अमेरिकीले न्युरोड पाकोमा एउटा साइकल छोडेर गए। धेरै दिन बितिसक्दा पनि साइकल लिन उनी आएनन्। हामी सधैँ त्यो साइकल देख्थ्यौँ। अरूले पनि देखेका रहेछन्। साइकल मालिकलाई कुनै मतलब थिएन। न पत्रपत्रिकामा साइकल हराएको सूचना नै छापिएको थियो।

एक महिनापछि ती अमेरिकी फर्केर साइकल छोडेको त्यही ठाउँमा आइपुगे। उनी पिसकोरका कर्मचारी रहेछन्। कामको सिलसिलामा अकस्मात् पोखरा हिँड्नुपरेछ। हतारहतारमा साइकल त्यहीँ थन्क्याएर गएका रहेछन्। फर्कंदा त्यही ठाउँमा साइकल देखेर उनी दंग परे। भन्न थाले, ‘यो देशमा भगवान् बसेको छ।’

अस्ति जेन-जी प्रदर्शनमा पसल र मान्छेको घर लुटिएको देख्दा नमीठो लाग्यो। कस्तो देश कस्तो भएछ! कसको आँखा लागेछ, काठमाडौँलाई?

दार्जिलिङमा उबेला साइकल देख्ने कुरै भएन। तराई झर्दा थुप्रै साइकल देखिन्थे। सिलिगडीतिर डन्डा भएको साइकल मात्र देखेको थिएँ, लेडिज साइकल चाहिँ काठमाडौँ आएपछि मात्र देखेँ। डन्डाविनाको साइकल देखेर अचम्म लाग्यो।

हिप्पीहरू जताततै गाँजा उडाइरहेका हुन्थे। झोँछेको गल्ली गुलजार थियो। सानो पसलमा पनि मिलेर बस्थे। उनीहरूलाई सबैभन्दा अचम्म लाग्ने कुरा, गाँजा किनेको पैसा कसले तिर्‍यो, त्यो थाहा नै हुँदैनथ्यो। गाँजा पाउने पसलमा चिलिम तानिरहेका मान्छेहरूको भीडमा उनीहरू पनि मिसिएर बस्थे। तान्दै आउँदा उनीहरूको पनि पालो आउँथ्यो। सरक्क तान्थे, मातेर जान्थे। पैसाको कसैलाई मतलबै थिएन।

त्यतिबेला भियतनाममा अमेरिकी युद्ध चलिरहेको थियो। नेपाल आएका अधिकांश हिप्पी अमेरिकी थिए। उनीहरू युद्ध छल्न नेपाल प्रवेश गरेका थिए। अमेरिकी सरकारले युवाहरूलाई जबर्जस्ती युद्धमा धकेलेको थियो। सरकारले युवाहरूलाई भियतनाम लगेर छाडिदिन्थ्यो। उनीहरू भागेर भारतको बाटो हुँदै नेपाल छिर्थे।

हिप्पीहरूलाई नेपालको बारेमा कसले जानकारी दियो, त्यो अनुसन्धानको विषय होला। मेरो विचारमा मुख्य दुई कारणले उनीहरू भारतभन्दा नेपालमा बस्न रुचाए।

पहिलेको तुलनामा काठमाडौँको आफ्नो स्वरूप मात्र बदलिएको छैन, पहिलेको शुद्धता पनि बिलाएछ।

पहिलो कारण, भारतमा करिब २०० वर्ष बेलायतीहरूले शासन गरेकाले अंग्रेजहरूप्रति भारतीयहरूको व्यवहार त्यति राम्रो थिएन। दोस्रो, अंग्रेज महिलाहरूले भारतमा सुरक्षित महसुस गरेनन्। भारतमा नयाँ मान्छे देख्दा घुरेर शंकास्पद नजरले हेर्ने प्रवृत्ति छ। तर, नेपालमा मानिसहरू फिस्स हाँस्छन्।

काठमाडौँमा हिप्पीहरूको बसाइ पनि अनौठो थियो। झोँछेमा अमेरिकीहरू बढी भेटिन्थे। बौद्धतिर डेनिस र स्विडिस। स्वयम्भूतर्फ जर्मनी, स्विजरल्यान्ड र इटालीका। हरेक पूर्णिमाको दिन चिलिम पार्टी चल्थ्यो। स्वयम्भूको जंगलमा त हिप्पीहरू नांगै हिँड्थे।

नेपालमा मौलाउँदो हिप्पी संस्कृतिबाट उत्साही भएर भारतीय सिने उद्योगका स्टार देव आनन्दले सन् १९७१ मा हरे रामा हरे कष्णा  फिल्म नै बनाए। फिल्मको छायांकनका लागि काठमाडौँ आएको देव आनन्दसहितको टिम होटल सोल्टीमा बसेको थियो। यतिबेला हामी जिनत अमानलाई तामाङकी छोरी भन्दै जिस्क्याउँथ्यौँ। उनको नेपाली नाम नै राखेका थियौँ- जिना तामाङ।

त्यसबेलाको काठमाडौँको चमकदमक बेग्लै थियो। पहिलेको तुलनामा काठमाडौँको आफ्नो स्वरूप मात्र बदलिएको छैन, पहिलेको शुद्धता पनि बिलाएछ।