भक्तपुर। भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको चौरमा आजबाट सुरु हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ।
विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भिड लागेको छ। महाधिवेशनका लागि निर्माण गरिएको मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाले महाधिवेशनस्थलमा उल्लासमय वातावरण बनेको छ।
महाधिवेशन उद्घाटनस्थलको सुरक्षालाई ध्यानमा राख्दै बम विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले खटिएको छ। प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार यहाँको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।
उनले बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सूक्ष्म जाँच गरेको जानकारी दिए। यहाँको सुरक्षाका लागि प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरी गरी २५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ।
साथै यहाँ ५० भन्दा बढी सीसीटीभी क्यामरा जडान पनि गरिएको छ।
