सम्पदा
बाटो विस्तारको नाममा विस्थापित राणा प्रधानमन्त्रीहरूका सालिक
पहिलो विश्वयुद्धको समाप्तिसँगै रुसमा भएको बोल्सेभिक क्रान्तिले त्यहाँका राजा निकोलस द्वितीयसहित राजपरिवारका सदस्यलाई जेलको कालकोठरीमा पुर्यायो। अर्को वर्ष उनीहरू काटिए, येकातिरिनबर्गमा। यस घटनासँगै रुसमा ३०४ वर्ष लामो रोमानोभ राजवंश समाप्त अनि कम्युनिस्ट व्यवस्थाको उदय भयो।
तर, कम्युनिस्ट व्यवस्था पनि लामो समय टिक्न सकेन। सन् १९९१ मा सोभियत संघको विघटनसँगै रुसबाट सदाका लागि कम्युनिस्ट व्यवस्थाको अन्त्य भयो।
देशमा कुनै समय एउटा वर्गले १०० वर्षभन्दा बढी शासन गर्यो भन्ने झल्को दिने कुनै आधार भेटिँदैन।
बीचका केही वर्ष यो देशमा ठूलै राजनीतिक उथलपुथल देखियो। सन् १९९८ मा त अनौठै कुरा भयो। रुसी सरकारले सात दशकअघि ‘बुर्जुवा’ भनेर काटिएका तिनै राजा निकोलस द्वितीय र उनको परिवारको शव सेन्ट पिटसवर्गको गिर्जाघरमा राख्ने निर्णय गर्यो।
कसैलाई प्रिय लागे पनि, अप्रिय लागे पनि इतिहासको अस्तित्वलाई कसैले नकार्न सक्दै सक्दैन। यो घटना नेपालका शासकहरूका लागि पनि ठूलो शिक्षा हुनसक्थ्यो। तर, आफ्नै सत्ता लम्ब्याउने अभियानमा रहेका उनीहरू इतिहासको पुनः व्याख्या गर्नेभन्दा पनि ‘तोडफोड’ को राजनीतिमा रमाए। त्यही भएर नेपालमा १०४ वर्ष सक्रिय शासन गर्ने राणाशासकका शालिक, कलाकृतिहरू टुँडिखेल र नेपाली सेनाको मुख्यालयमा थन्क्याए। सहरका मुख्य चौबाटा उराठलाग्दा ‘ट्राफिक आइल्यान्ड’ मा परिणत भए।
शासकहरूको यो कृत्यबारे व्यंग्य गर्दै प्रबोधशमशेर राणाले आफ्नो लेख ‘ब्रोन्ज वारियर फरएभर’ मा लेखेका छन्– ‘म प्रायः सोच्ने गर्छु, लोकतन्त्र र गणतन्त्रवादीहरूले राणाका सालिकहरू किन बचाइदिए, के उनीहरू लुटपाटका लागि आपसमा यति व्यस्त थिए, तिनीहरूले बिर्सिए– सामन्ती वर्ग अझै घोडा चढेर आफ्ना धूर्त गतिविधिमाथि सतर्कतापूर्वक निगरानी गरिरहेको छ?
यतिबेला राणाशासकहरू इतिहासका पानामा सीमित छन्। उनीहरूले शासन गर्दा बनाएका सिंहदरबार, नारायणहिटी, नेपाल राष्ट्र बैंकको भवन, दरबार हाइस्कुल, त्रिचन्द्र कलेजलगायत केही भवनले मात्र राणाशासनको झल्को दिन्छन्। यसबाहेक देशमा कुनै समय एउटा वर्गले १०० वर्षभन्दा बढी शासन गर्यो भन्ने कुनै आधार भेटिँदैन।
यसको ठीकविपरीत छिमेकी भारतको राजधानी दिल्ली जाने जोकोहीलाई त्यहाँ उत्रिनेबित्तिकै महसुस हुन्छ– कुनै बेला त्यहाँ मुगलहरूले शासन गरेका थिए। यस्तै, गोवा पुग्दा पोर्चुगिज र कोलकातालगायत अन्य सहर पुग्दा ब्रिटिसहरूको प्रभाव देखिन्छ।
बेलायती शासकलाई रिझाएर सुगौली सन्धिमा गुमाएका चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई पुनः नेपालमा गाभ्न सफल जंगबहादुरको सालिक १९३८ सालमै नेपाल आइसकेको थियो।
“भारतमा करिब २०० वर्ष शासन गरेर बेलायतीहरू फर्किए। तर, भारतीय शासकहरूले ब्रिटिसकालमा बनेका पुराना कलाकृति र सालिकहरू जोगाएर राखे। त्यसैले अहिले संसारभरिबाट अध्ययन र अनुसन्धानका लागि मानिसहरू आउने गर्छन्,” त्रिभुवन विश्वविद्यालयमा लामो समय इतिहासका प्राध्यापक रहेका हेमन्तशमशेर राणा बताउँछन्।
नेपालमा पनि राणाशासनको बेला काठमाडौँको सहरी क्षेत्र न्युरोडवरिपरि ६ वटा चोकमा ६ जना शासकको सालिक ठड्याइएका थिए। तर, ती सबै अहिले टुँडिखेल र नेपाल आर्मीको कम्पाउन्डभित्र थुनिएको अवस्थामा छन्, सिंहदरबारको पुलअगाडि भद्रकाली मन्दिरछेउमा उभिएका श्री ५ पृथ्वीवीरविक्रम शाहको सालिकबाहेक।
नेपालमा सर्वप्रथम जंगबहादुर कुँवरको तामाको सालिक विदेशबाट आयात भएको थियो। राणाशासनका संस्थापक जंगबहादुरले पहिलो बेलायत भ्रमणमा त्यो सालिक बनाउन लगाएको इतिहासविद्हरूको भनाइ छ। उनको त्यो सालिक चर्चित कलाकार थोमस ब्रोकले बनाएका थिए।

टुँडिखेलमा जंगबहादुर राणाको सालिक अनावरण समारोह
ब्रोक फ्रान्सका अर्का चर्चित मूर्तिकार जोन हेनरी फोलीका शिष्य थिए। घोडाको एउटा खुट्टा हावामा भएको र घोडाको उल्टो दिशामा अनुहार घुमाएका विशुद्ध लडाकुजस्तै लाग्ने जंगबहादुरको त्यो सालिक ब्रोकले आफ्ना गुरु फोलीको प्रभावमा रहेर बनाएको देखिन्छ। किनभने, फोली तिनै मूर्तिकार हुन्, जसले भारतको कोलकातामा रहेको जेम्स आउटरामको सालिक यही पोजमा बनाइसकेका थिए।
बेलायती शासकलाई रिझाएर सुगौली सन्धिमा गुमाएका चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई पुनः नेपालमा गाभ्न सफल जंगबहादुरको सालिक १९३८ सालमै नेपाल आइसकेको थियो। तर, त्यसलाई अनावरण गर्न तीन वर्ष लाग्यो। ७० हजार रुपैयाँ खर्च भएको त्यस सालिकको १४ चैत १९४१ सालमा धरहरानजिकै नेपाली सेनाको परेड ग्राउन्डमा भाइ रणोद्दीप सिंहले अनावरण गरेका थिए।
राजा महेन्द्रले राणाहरूको सबै सालिक टुँडिखेलमा खुम्च्याए पनि आफू र आफ्ना सन्तानहरूको सालिक काठमाडौँमा मात्र होइन, पछि पूरै नेपालमा फैलाउन प्रोत्साहन गरे।
त्यतिबेला सरकारी कर्मचारी र आर्मीका जवान सबैलाई उपस्थित हुन उर्दी जारी गरिएको थियो भने राजा पृथ्वीवीरविक्रम शाहलगायत राजपरिवारका सबै सदस्य विशेष रूपले आमन्त्रित थिए। जंंगबहादुरको सालिक अनावरणसँगै रणोद्दीपले आफ्नो सालिक पनि बागबजारस्थित बिजुली अड्डानजिकै अनावरण गर्न लगाएका थिए।

रणोद्दीप सिंहको सालिक
उनको नेतृत्वमा नेपालले तिब्बतलाई युद्धमा पराजित गरेको थियो। उनको सालिक पनि बेलायतमै निर्माण गर्न लगाइयो। सालिक अनावरणसँगै सर्वसाधारणका लागि तीन दिन जुवा फुक्का गरिएको थियो।
राणाहरूको इतिहासकार पुरुषोत्तमशमशेरले लेखेका छन्, ‘लखनउ लुटमा देखाएको पराक्रमको सम्झनामा जंगबहादुरको सालिक बनाइएको हो।’

टुँडिखेलमा जंगबहादुरको सालिक
जंगबहादुरका कान्छा भाइ धीरशमशेरका सन्तानहरूले पछि जंगबहादुरका छोराहरूलाई राजकाजबाट लखेटे। यसपछि शासनसत्ता आफ्नो हातमा लिएका उनीहरूले काठमाडौँ खाल्टोमा थप चार वटा सालिकको स्थापना गरे।
वीरशमशेर राणाले बुवा धीरशमशेरको सम्झनामा महांकाल भैरवको उत्तरपट्टि २८ फागुन १९५० मा अर्को सालिक अनावरण गरेका थिए। यो सालिक पनि बेलायती मूर्तिकार डोमेनिक एन्टोनियोले बनाएको बताइन्छ। वीरको सालिक भने चन्द्रशमशेरले १६ वैशाख १९६४ सालमा वीर अस्पतालअगाडि अनावरण गर्न लगाए।

धीरशमशेरको सालिक
राणाहरूमा सबैभन्दा बढी २९ वर्ष शासन गर्ने चन्द्रशमशेर हुन्। १९८० सालमा बेलायतसँग सन्धि गरेर नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिलाएका उनी आफ्नै कार्यकालमै आफ्नो सालिक अनावरण गर्न चाहन्थे। आफ्नो शासनको उत्तरार्द्धमा उनले बेलायतमै सालिक बनाउन लगाएका थिए। तर, समुद्रबाट ल्याउने क्रममा सालिक डुबेपछि उनको सपना पूरा भएन। त्यो सालिकको पहिले नै बिमा गरिएको थियो। पछि सालिक त नेपाल भित्रियो, तर क्षयरोगका कारण चन्द्रको निधन भइसकेको थियो। उनको सालिकलाई भीमशमशेरले १९८६ सालको अन्त्यतिर अनावरण गरे।

चन्द्रशमशेरको सालिक
यस्तै, जुद्धशमशेरको सालिक जावलाखेलको चिडियाखानाअघि ३१ जेठ २००५ मा राणाशासनका अन्तिम प्रधानमन्त्री मोहनशमशेरले अनावरण गरेका थिए। अरू राणाशासकभन्दा पृथक् यस सालिकमा जुद्धले श्रीपेच नभई टोपी लगाएका छन्। यसलाई पछि भद्रकालीको बायाँपट्टि सारियो।
जुद्धको श्रीपेच लगाएको सालिक न्युरोडमा पनि अनावरण गरिएको थियो। १९९० सालको भुइँचालोमा सरकारी स्रोतसाधनको भरमा पुनर्निर्माणको अद्भुत काम गरेबापत जुद्धको सालिक वसन्तपुर क्षेत्रको वरिपरि न्युरोडको चौबाटोमा अनावरण गरिएको थियो। अहिले त्यो सालिक र श्री ५ पृथ्वीवीर विक्रम शाहको सालिक मात्र आफ्नो ठाउँमा यथावत् छन्।

जुद्धशमशेरको सालिक
यी दुईबाहेक अरू सबै सालिक कि टुँडिखेलभित्र, नभए आर्मी मुख्यालय परिसरमा सारिएका छन्। श्री ५ पृथ्वीवीरविक्रम शाहको सालिक ३० फागुन १९८६ मा उनकै छोरा राजा त्रिभुवनले अनावरण गरेका थिए।
२०१६ सालसम्म ती सालिकहरू अनावरण भएकै ठाउँमा सुरक्षित रहेको प्रोफेसर राणा बताउँछन्। तर, २०१७ सालमा काठमाडौँको बाटो बढाउँदा न्युरोडको जुद्ध र भद्रकालीको श्री ५ पृथ्वीवीरविक्रम शाहको सालिकबाहेक सबै सारिए। यसमा यथावत् रहेको अर्को सालिक राजा त्रिभुवनको पनि हो। २००३ सालमा जुद्धले राजा त्रिभुवनको सालिक त्रिपुरेश्वरको दोबाटोमा अनावरण गरेका थिए।
“बेलायती महारानीको नेपाल भ्रमणअगाडि ती क्षेत्रको बाटो ठूलो बनाउँदा हटाइएको हो। पछि टुँडिखेलभित्रै सार्ने काम भयो,” राणा भन्छन्।
पहिले टुँडिखेल खुला थियो। यहाँ चारैतिर सिमेन्टको बार लगाउन अधिराजकुमार हिमालय शाहको अध्यक्षतामा ९ चैत २०१७ मा निर्माण समिति गठन गरियो। टुँडिखेल वरिपरि सिमेन्टको बार लगाएपछि राजा महेन्द्रको निर्देशनमा २८ असोज २०१८ सालमा सबै सालिक टुँडिखेलमा सार्न लगाइएको हो। त्यतिबेला पहिलो सालिकका रूपमा राणाशासनका पहिलो कमान्डर इन–चिफ (आर्मी चिफ) धीरशमशेरको सालिकलाई क्रेनले तानेर महांकाल भएको स्थानको टुँडिखेलतर्फ सारियो। त्यतिबेलै टुँडिखेलको ऐतिहासिक मानिएको खरीको बोट पनि काट्न लगाइयो।

वीरशमशेरको सालिक
राजा महेन्द्रले राणाहरूको सबै सालिक टुँडिखेलमा खुम्च्याए पनि आफू र आफ्ना सन्तानहरूको सालिक काठमाडौँमा मात्र होइन, पछि पूरै नेपालमा फैलाउन प्रोत्साहन गरे। अहिले विभिन्न आन्दोलनका नाममा ती सालिक कि फुटाइएका छन्, कि हटाइएका छन्।