गुल्मी। लामो समयको प्रतिक्षापछि गुल्मीको पश्चिम क्षेत्रमा पक्की पुल निर्माण भएपछि त्यस क्षेत्रका नागरिकलाई सहजता पुगेको छ।
मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत पश्चिमी भेगको छल्दीदेखि फूलबारीसम्म चार वटा पक्की पुल निर्माण भएका छन्।
पक्की पुल बनेपछि त्यस क्षेत्रका हजारौँ मानिस र सयौँ सवारीसाधनलाई खोला तरेर जोखिम पूर्ण यात्रा गर्ने बाध्यता टरेको छ। पक्की पुल निर्माणका लागि राजनीतिक दलका नेताहरुको लामो प्रयासपछि पुल निर्माणको कामले सार्थकता पाएको स्थानीय सुरेन्द्र पाण्डेयले बताए।
जिल्लाको इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिका क्षेत्रअन्तर्गत पर्ने खोलामा चार वटा पक्की पुल एकैपटक निर्माण भएसँगै त्यस क्षेत्रमा नागरिक यतिबेला निकै खुसी बनेका छन् ।
चाडबाडका समयमा घरमा आउँदा सधैँ खोला तरेर यात्रा गर्नुपर्ने चिन्ताले पिरोलिरहने त्यस क्षेत्रका नागरिकलाई पुल बनेपछि निकै सहज भएको स्थानीय मनबहादुर मुखियाले बताए।
उक्त क्षेत्रमा लामो समयको प्रयासपछि एकैपटक ४ वटा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएका हुन् । सञ्चालनमा आएका पक्की पुलमा फूलबारी खोला, घमिर खोला, हुलाके खोला र धनार्जी खोला गरी ४ वटा रहेका छन् ।
निर्माण सम्पन्न गरिएका पुलमा फूलबारी खोलाको पुल ३ करोड ३२ लाख ६८ हजार रुपैयाँ र घमिर खोला पुल ३ करोड १३ लाख ८४ हजार रुपैयाँमा निर्माण सम्पन्न मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए। उक्त पुल निर्माणको काम पन्थ निर्माण सेवाले गरेको थियो ।
त्यसैगरी, सुनील समीर निर्माण सेवाद्वारा हुलाके खोला पुल ५ करोड ७९ लाख ५३ हजार रुपैयाँ र धनार्जी खोला पुल ७ करोड ४८ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएकोे इन्जिनियर पौडेलले बताए।
मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा खोलामा पक्की पुल नहुँदा वर्षाको समयमा त्यस क्षेत्रका मानिसले ठूलो समस्या भोग्दै आउनुपरेको स्थानीय कृष्णप्रसाद अर्यालले बताए।
पुल नहुँदा वषैँ खोलाको बीचबाट सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । वर्षाको समयमा बाढी आउँदा कतीपय सवारीसाधन खोला तर्ने क्रममा बीचमा अड्किने र कतिपय सवारीसाधन बाढीले बगाउनेजस्ता समस्या थियो ।
त्यसका कारण यात्रुलाई वर्षांैदेखि खोला वारिपारी गर्न कठिनाइ हुने गरेको थियो । अहिले त्यस क्षेत्रमा ४ वटा पक्की पुल एकैचोटी निर्माण सम्पन्न भएर सहज रुपमा सवारीसाधन सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक निकै खुसी बनेको इस्मा‐१ गुरुवाका स्थानीय दधिराम पन्थीले बताए।
उक्त पक्की पुल निर्माण भएपछि जिल्लाको पश्चिमी क्षेत्रका ४ वटा स्थानीय तहसँगै बागलुङ र प्यूठानसम्मका नागरिकलाई सहज बनेको मालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताए। “पुल नहुँदा नागरिकले लामो समयदेखि पटकपटक समस्या र दुर्घटनाको जोखिम व्यहोर्दै आउनुपर्ने बाध्यता जस्तै बनेको थियो ।
अब खोलामा पक्की पुल बनेपछि विगतका समस्या समाधान गरिदियो, कालोपत्र सडकसँगै पुल निर्माण भएपछि यस क्षेत्रमा विकासले पनि नयाँ आयाम थप्ने भएको छ”, गिरीले भने । तम्घास–सिमलटारी खण्डमा सडक र पुल निर्माण भएपछि छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फूलबारी, सिमलटारीलगायत स्थानमा व्यापारिक चहलपहलसमेत बढ्न थालेको छ ।