काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

२८ मंसिर २०८२
तस्बिर : पदमबहादुर श्रेष्ठ
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालतले छुजुङ नदी जलविद्युत् आयोजनाको मुद्दालाई एकैसाथ राखेर सुनुवाइ गर्न आदेश गरेको छ।

न्यायाधीशहरु हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले आज (आइतबार) सुनुवाइ गरी ‘साथै राखी पेस गर्न’ आदेश गरेको हो।

संखुवासभाको उत्तरपूर्वी क्षेत्रको लुङ्बासम्बा भू-परिधिमा रहेका आदिवासी सिङ्सा-भोटे समुदायका नेताहरूले छुजुङ नदी जलविद्युत् आयोजना-६३ मेगावाटविरुद्ध सर्वोच्चमा २६ कात्तिकमा रिट दर्ता गरेका थिए। यसअघि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो।

आइतबारका लागि अन्तरिम आदेशका विषयमा लागि छलफल थियो। योभन्दा अगाडि पनि एउटा मुद्दा बाँकी रहेकाले २ पुसमा सुनुवाइ गर्ने गरी तय भएको मुद्दाको बहस गरेका वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले बताए। छुजुङ हाइड्रोपावर परियोजनामा स्थानीयले सहभागिता खोज्दै सर्वोच्चमा एक वर्ष रिट निवेदन दर्ता गरेका थिए। पहिलेको मुद्दा पनि विचाराधीन रहेकाले साथै राख्न आदेश भएको हो।

त्यस क्षेत्र मकालु बरुण राष्ट्रिय निकुञ्ज र कञ्चनजंघा संरक्षण क्षेत्रबीच अवस्थित जैविक-सांस्कृतिक सम्पदा स्थलमा जलविद्युत् बनाउने योजना भएपछि त्यसको विरोधमा रिट दर्ता भएको हो। रिट निवेदनमा आयोजना रद्द गर्न, दोहोरो पर्यावरणीय प्रभाव मूल्याङ्कन- ईआईएलाई अमान्य घोषित गर्न र अन्तरिम आदेश जारी गरी निर्माण रोक्न माग गरिएको छ।

चार वर्षअघि सुरु साङ्ग्रिला ऊर्जा प्रालिको यो आयोजनाको हाल करिब २० प्रतिशत काम पूरा भएको छ। आयोजना २०२८ सम्म सम्पन्न गर्ने लक्ष्य छ। ईआईएमा आयोजनाको क्षेत्रफललाई २० हेक्टर मात्र देखाइएकामा प्रभावित क्षेत्र करिब १८ सय हेक्टर भएको, यस क्षेत्रमा पाइने लोपोन्मुख वन्यजन्तु र वनस्पतिबारे उल्लेख नगरिएको, रिडाक र थुदाम गाउँमा सार्वजनिक सुनुवाइ नै नभएको, कतिपय गाउँलेको नक्कली हस्ताक्षर गरिएको, समुदायको स्वतन्त्र, पूर्व र सूचित सहमति नलिइएको रिट निवेदकमध्येका स्थानीय धेन्दुक धोमा भोटे बताउँछन्।

“आयोजनाले समुदायको भूमि र जीविकोपार्जनमा बढ्दो असर परेको छ। आयोजनाका कारण गाउँलेहरू पुर्ख्यौली भूमिबाट विस्थापित हुने डरले चिन्तित छन्‚” भोटे भन्छन्। आयोजनाबाट प्रभावित हुने रिडाकमा ८१, थुदाममा २२ र च्याम्ताङमा १२५ घरधुरी छन्। स्थानीयका अनुसार आयोजनाका कारण जंगल फँडानी हुँदा काचोक जंगल क्षेत्रमा बाढी आएको छ। संरक्षित रूखहरू (जस्तै लोठ सल्ला) काटिएका छन्।

काचोक जंगल क्षेत्रमा बाढी आएको छ। २६ वटा हिमताल जोखिममा छन्। च्याम्ताङ-काठमाडौँ कल्याण समाजका सचिव लाक्पा आङ्जुक भोटे गाउँलेका लागि छुजुङ र चाङ्बु नदी देउता भएको बताउँछन्।