३१औँ महानगर दिवस
कार्यक्रममा बाजा गुरुहरुलाई सिफारिस गर्ने संघ-संस्थाका पदाधिकारीहरुको पनि उपस्थिति थियो।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुलाई जनही ३० हजार रुपैयाँसहित सम्मान गरेको छ।
३१औँ महानगर दिवस २०८२ का अवसरमा आज (आइतबार) राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उपप्रमुख सुनीता डंगोल, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत, समितिका सदस्यहरु, कार्यपालिकाअन्तर्गतका समितिका संयोजकहरुले सम्मान गरे।
सम्मानित हुने गृरुमा ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस भएका परम्परागत ६३ टोलका ६३ जना मु-धिमे गुरु र ५२ जना दाफा खिं गुरु छन्। गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस २६ टोलका एक-एकजना गुरु, नेपाल खड्गी सेवा समितिबाट सिफारिस ६९ टोलका एक-एकजना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट १४ टोलबाट सिफारिस १४ जना गुरु छन्।

यस्तै केन्द्रीय मानन्धर संघबाट सिफारिस चार टोलका चारजना र विभिन्न संघ-संस्थाबाट सिफारिस सातजना बाजा गुरुलाई सम्मान गरिएको हो।
कार्यक्रममा उपप्रमुख डंगोलले स्वःस्फूर्त परम्परागत बादन संस्कृति जोगाउन योगदान गर्ने बाजा गुरुहरुले प्रदान गरेको जीवन्तता कायम राख्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन्। “परम्पराको संरक्षण र प्रवर्धन अहिले नै आँखाले देखेजस्तो दृश्यात्मक हुँदैन। तर, अमूल्य हुन्छ। पछिल्लो समयका प्रशिक्षण र सांस्कृतिक क्रियाकलापहरुमा युवाहरुको आकर्षण बढ्नुले संस्कार पुस्तान्तरण हुने वातावरण बनेको छ‚” उनले भनिन्‚ “स्वार्थ नराखी, फलको अपेक्षा नराखी निरन्तर संस्कृति बचाउन काम गर्ने गुरुहरुलाई शब्द र नगदबाट गरिने सम्मान कम हुन्छ। महानगरपालिकाले योभन्दा उच्च कोटीमा राखेर गुरुहरुप्रति आदर भाव प्रकट गर्दछ।”

कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले बाजा गुरुहरुको सम्मानबाट अमूर्त सम्पदाको संरक्षणमा योगदान हुने अपेक्षा रहेको बताए। “बादन संस्कारले मूर्त सम्पदा क्षेत्रलाई जीवन्तता दिएका छन्। बाजा गुरुहरुकै कारण बादन संस्कार जोगिएको हो। यो परम्परा बचाइ राख्न महानगरपालिका र समुदायबीच दिगो सम्बन्ध रहने हामीले अपेक्षा गरेका छौँ‚” संगतको भनाइ थियो।
कार्यक्रममा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन, नेपाल खड्गी सेवा समिति अध्यक्ष रञ्जिता खड्गी, गुंलाबाजं व्यवस्थापन व संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्यसहित वक्ताले महानगरपालिकाले गुरुहरुलाई सम्मान गरेपछि सरकारबाट संरक्षण पाएको अनुभूति भएको धारणा राखे।

बाजागाजा उपलब्ध गराउने, बजाउने तरिका सिक्ने तथा धार्मिक सामाजिक कार्यमा बादन गर्ने कामका लागि महानगरपालिकाको अझ सशक्त अभिभावकत्वको अपेक्षा गर्दै उनीहरुले अहिले थालिएका कार्यक्रमको प्रशंसा गरे।
कार्यक्रममा बाजा गुरुहरुलाई सिफारिस गर्ने संघ-संस्थाका पदाधिकारीहरुको पनि उपस्थिति थियो।