काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

२८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। प्रेम कथामा बनेको नेपाली चलचित्र ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरले चलचित्रको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गरेको छ।

सौम्य र क्लासिक लुकमा रहेको पोस्टरमा प्रेम, पवित्रता र सरलताको संकेतका रूपमा सेतो टोनको पृष्ठभूमि प्रयोग गरिएको छ। पृष्ठभूमिमा प्रेमको तरंग बुझाउने ‘वेभ’ प्रयोग गरिएको छ। अभिषेक र आकृतिको हाँसो र एक-अर्काप्रति देखिएको आत्मीयताले कथावस्तु शुद्ध प्रेमकथामा केन्द्रित रहेको आभास दिन्छ। पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन्।

पोस्टर सार्वजनिकसँगै चलचित्रको नयाँ गीत ‘तिमीबिना …’ को रिलिज मिति पनि घोषणा गरिएको छ। निर्माण पक्षका अनुसार उक्त गीत ३ पुसमा डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ।

यसअघि सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल …’ को सफलतापछि नयाँ गीतप्रति दर्शकको चासो थप बढ्ने अपेक्षा गरिएको छ। गायक केहरसिंह लिम्बू तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को स्वरमा रहेको यो गीत युट्युब र टिकटकमा विशेषगरी ‘जेन-जी’ पुस्तामाझ लोकप्रिय बन्दै गएको छ।

दिनेश राउत निर्देशित यो चलचित्र २३ माघमा रिलिज हुनेछ। चलचित्रमा घनश्याम जोशी, सुनीता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय देख्न सकिन्छ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुशन प्रजापतिले गरेका छन्।