विधान संशोधन
अब एमालेमा स्थायी कमिटी ४५ तथा पोलिटब्युरो ९९ सदस्यीय हुनेछ भने केन्द्रीय कमिटी २५१ बाट बढाएर ३०१ जनाको बनाइयो।
काठमाडौँ। नेकपा एमालेमा अब केन्द्रीय पदाधिकारीको संख्या १९ रहने भएको छ।
जसमा अध्यक्ष एक‚ उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन र सचिव नौजना रहनेछन्। योसँगै वरिष्ठ उपाध्यक्ष पद पनि हटाइएको छ।
दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै केन्द्रीय पदाधिकारीको संख्या १९ बनाउने तथा वरिष्ठ उपाध्यक्षको पद हटाउने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार विधान संशोधनसहित १९ जना पदाधिकारी बनाउने प्रस्ताव बन्दसत्रको हलमा प्रस्तुत हुनेछ।
ललितपुरको गोदावरीमा गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ जनाको बनाएको थियो। यही विधान महाधिवेशनको निर्णय उल्याउँदै ओलीले पदाधिकारी संख्या बढाएका हुन्।
यसअघि दुई दिनअघि मात्रै बसेको सचिवालय बैठकले पनि विधान संशोधन नगर्ने र भदौमै पारित विधानअनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने निर्णय गरेको थियो।
नेकपा एमालेको आइतबार बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउँदै विधान संशोधन गरेको हो।
पोलिटब्युरो सदस्यको एकतिहाइ स्थायी कमिटी बनाइने पनि गौतमको भनाइ छ। उनका अनुसार स्थायी कमिटी ४५ तथा पोलिटब्युरो ९९ सदस्यीय हुनेछ। केन्द्रीय कमिटी भने २५१ बाट बढाएर ३०१ जनाको बनाइएको छ।
११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठकको आरम्भ गर्दै अध्यक्ष केपी ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको दाबी गरेका थिए।
बैठकमा महासचिव शंकर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेन्डा प्रस्तुत गरेको प्रचार विभाग प्रमुख गौतमले जनाए।
यो पनि…