काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

२८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। यूएईमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कास्य विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई आइतबार स्वागत गरिएको छ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

३ देखि १४ डिसेम्बरसम्म भएको प्रतियोगिताको ५४ केजी तौलसमूहमा राखेपले सञ्चालन गरिरहेको मिसन-२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई हराउँदै कास्य पक्का गरेका थिए।

कास्यसँगै चन्द्रले ७५ हजार अमेरिकी डलर पुरस्कार पनि सुनिश्चित गरेका थिए। सेमिफाइनलमा चन्द्र विश्व वरीयतामा सातौं स्थानमा रहेका कजाखस्तानका खेलाडीसँग पराजित भएका थिए। विश्व बक्सिङमा पदक जित्ने चन्द्र एक्लो नेपाली मुक्केबाज हुन्।

चन्द्रसँगै प्रतियोगितामा नेपालबाट पाँच खेलाडी सहभागी थिए। ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाङ काम्वाङ, ६० केजीमा खगेन्द्र रोकामगर र ८० केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए।

लालप्रसादले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दै १० हजार अमेरिकी डलर जिते। बाँकी खेलाडी पहिलो चरणबाटै बाहिरिए। प्रशिक्षकमा प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुन मगर थिए।

आइतबारै दुबईमा भएको पाँचौँ एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यू-२३ पुरुष सिंगल्स (क्लास ७) मा रजत पदक जित्न सफल स्वीकृत न्यौपानेसहितको टोलीलाई पनि स्वागत गरिएको थियो।

सदस्य-सचिव मेहता, राखेप कार्यकारी समितिका सदस्य भट्टराई, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, राष्ट्रिय पारालिम्पिक कमिटीका पदाधिकारी, अखिल नेपाल टेबलटेनिस संघका पदाधिकारीलगायतले टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।