काठमाडौँ। पछिल्ला चौबीस घण्टामा आगलागीमा परी दुईजनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला चौबीस घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुईजनाको मृत्यु हो। यस्तै आगलागीसहितका विपदजन्य घटनामा नौजना घाइते भएका छन्।
पछिल्ला दिनमा आगलागीका घटना बढ्दै गएको जनाउँदै प्राधिकरणकी प्रवक्ता शान्ति महतले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेकी छन्।
उनका अनुसार मृत्यु हुनेमा सङ्खुवासभाको चैनपुरमा ग्यास चुहिएर आगलागी हुँदा एकजना र रामेछापको सुनापातीमा एकजना छन्। ती घटनामा तीन करोड १४ लाखको आर्थिक क्षति भएको जनाइएको छ। गएको एक महिनामै आगलागीमा परी आठजनाको मृत्यु भइसकेको छ।