काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

२९ मंसिर २०८२
अ+
अ-

काठमाडौं। ब्याटिङ ‘कोल्याप्स’ हुँदा नेपाल एसीसी यु–१९ एसिया कपको दोस्रो खेलमा पनि ठूलो लक्ष्य दिन चुकेको छ।

द सेभेन्स स्टेडियम, दुबईमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले बाङ्लादेशलाई १३१ रनको सामान्य लक्ष्य दिएको हो।
३१।१ ओभर ब्याटिङ गरेको नेपालले १० विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो।

नेपालका अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए। ४३ बल खेलेका उनले २ छक्का प्रहार गरे। आशिष लोहार २३, साहिल पटेल १८ र नीरजकुमार यादव १४ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बाङ्लादेशका मोहम्मद शाबुजले सर्वाधिक ३ विकेट लिए। ७ ओभर बलिङ गरेका उनले १ मेडनसहित २७ रन खर्चिए। साद इस्लाम रजिन, मोहम्मद सहरिया अल–अमिन र मोहम्मद अजीजुल हकिम तमिमको नाममा समान २ विकेट रह्यो।