काठमाडौँ। एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र एफसी रियाले भिड्ने भएका छन्।
उदयपुरस्थित थरुहट स्टेडियममा हुने प्रतियोगिता ३ माघदेखि सुरु हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगितामा नकआउट फर्म्याटमा हुनेछ। प्रतियोगितामा ३ विभागीयसहित ९ क्लबको सहभागिता रहनेछ। प्रतियोगितामा पुलिसबाहेक महिला लिग च्याम्पियन एपीएफ र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउनेछन्।
आर्मीले भने सिधै क्वार्टरफाइनल खेल्नेछ। यीबाहेक एन्फा महिला लिगमा यसै वर्ष उक्लिएका न्युरोड टिम (एनआरटी), संकटा फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड पनि भिड्नेछन्।
मोफसलबाट गाईघाट फुटबल क्लब र आरसी रिसोर्टसँगै काठमाडौंको छहारी युथ क्लबले पनि चुनौती पेस गर्नेछ।