काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

साहित्य

आफ्नै विभागीय प्रमुख सरसँग कलेजभित्रै अरुन्धतीले धूमपान गरेको देखेपछि मलाई पत्याउनै गाह्रो पर्‍यो। म हुर्केको समाजमा त यस्तीलाई ‘बिग्रेकी केटी’ मानिन्थ्यो।

२९ मंसिर २०८२
हिसिला यमी र बाबुराम भट्टराईसँग भारतीय लेखिका अरुन्धती रोय। तस्बिर : भट्टराईको फेसबुक पेज
अ+
अ-

भारतीय लेखक–अभियन्ता अरुन्धती रोय गएको २१ मंसिरमा काठमाडौँको बुक्स मन्डला र एकता बुक्समा ‘बुक साइनिङ’ का लागि उपस्थित हुने खबरले धेरै उत्साहित थिएँ। उनको हस्ताक्षरसहितको नयाँ किताब मदर मेरी कम्स टु मी किन्ने भीडमा म पनि मिसिएँ।

अरुन्धतीका किताबहरू पढे पनि, समीक्षा गरे पनि उनकै हस्ताक्षर लिने अवसर यसअघि कहिल्यै जुरेको थिएन। कुनै समयकी मेरी सहपाठी अझ ‘रुममेट’ भएर पनि यो अवसर मैले बल्ल पाइरहेकी थिएँ।

अरुन्धती मलाई सोझी ठान्थिन्। एकपटक त भनिन् पनि, ‘हिसिला, यू टक थ्रु योर ह्याट।’

अरुन्धती र म नयाँ दिल्लीस्थित स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चर पढ्दाका साथी। सन् १९७६ मा म त्यहाँ भर्ना भएपछि होस्टलको पहिलो रुममेट पनि उनी नै भइन्। म इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट त्यहाँ पुगेकी थिएँ।

अरुन्धती एकदमै ‘कस्मोपोलिटन’। अंग्रेजी राम्रो थियो। पहिरन पनि अलग। लापरवाह देखिने खालका बहुरंगी लुगा, अनौठा मुन्द्रा र चुरा लगाउँथिन्। झट्ट हेर्दा उबेलाको काठमाडौँ, वसन्तपुरको फ्रिक स्ट्रिटमा डुल्ने हिप्पीजस्तै। मलाई त उनलाई देख्दा कताकता हिप्पीकै कथामा काठमाडौँमै छायांकन भएको हरे राम हरे कृष्णकी नायिका जिनत अमानको झल्को आउँथ्यो।

एकता बुक्समा अरुन्धती रोयको बुक साइनिङ कार्यक्रममा सहभागी लेखक, पाठक। तस्बिर : एकता बुक्सको फेसबुक पेज

अरुन्धती सुन्दर मात्रै होइन, स्वच्छन्द पनि थिइन्। अराजक पनि उस्तै। राम्री भएकीले केटाहरू उनको पछि लाग्न खोज्थे। दुर्व्यवहार गर्न खोज्ने केटाहरूलाई त उनी सातो नै लिन्थिन्। केटाहरू ‘यो केटी त खतरनाक छ’ भन्थे।

पढाइमा पनि उनी अब्बल थिइन्। शिक्षकहरूलाई राम्रो प्रश्न सोध्ने, बौद्धिक सवालजवाफमा पनि सक्रिय।

उनीविपरीत म भने अलि अनुशासित थिएँ। किनभने, जहाँबाट म पढेर आएकी थिएँ, त्यो स्कुलमा मेरी दिदी तिमिला इन्जिनियरिङ पढ्दै थिइन्। ११ वर्षदेखि लगातार आठ वर्ष त म सिनियर दिदीहरूकै संरक्षणमा बसेँ। दिदीहरू मलाई ‘तिमी हुर्किंदै गरेकी किशोरी हौ, चिया नखाऊ, दुध खाऊ, अन्डा खाऊ’ भन्थे। ‘अनुशासित भएर बस्नुपर्छ’ भन्थे।

कलेजमा अरुन्धती गोवा घर भएका सिनियर जेरार्ड दा कुन्हासँग र म बाबुरामजीसँग नजिकियौँ। हामी दुवैका ब्वाइफ्रेन्डको जवाहरलाल नेहरू युनिभर्सिटी र दिल्ली युनिभर्सिटीका वामपन्थी कार्यकर्तासँग हिमचिम थियो।

आर्किटेक्चर पढ्न आएपछि त कफी खाने, गाँजासमेत तान्ने विद्यार्थीहरू देखेँ। जति ‘रफ एन्ड टफ’ देखियो, त्यति ‘कुल’ भन्ने सोच हाबी थियो। कति सर त कलेजभित्रै विद्यार्थीसँगै बसेर ‘सिगरेट’ पिउँथे। एकपटक त आफ्नै विभागीय प्रमुख र अरुन्धतीले सँगै धूमपान गरिरहेको देखेँ, मलाई त पत्याउनै गाह्रो पर्‍यो। म हुर्केको समाजमा त यस्तीलाई ‘बिग्रेकी केटी’ मानिन्थ्यो।

इन ह्विच एनी गिभ्स इट दोज वन्स चलचित्रमा अभिनय गर्दै अरुन्धती । तस्बिर सौजन्य : दूरदर्शन

त्यहीबेला कलेजमा बाबुराम भट्टराई हाम्रो सिनियर हुनुहुन्थ्यो। उहाँ त उल्टो, झन् साधारण, ‘आउट अफ प्लेस’ जस्तो देखिनुहुन्थ्यो।

अरुन्धती मलाई सोझी ठान्थिन्। एकपटक त भनिन् पनि, ‘हिसिला, यू टक थ्रु योर ह्याट।’

अरुन्धती सधैँजसो मोटा किताब बोकेर हिँड्थिन्। मलाई उनलाई त्यो किताब नसुहाएजस्तो लाग्थ्यो। सोच्थेँ, उनले देखाउनकै लागि मोटो किताब बोकेकी हुन्। त्यसबेला उनलाई सबैले सुजी भनेर बोलाउँथे। पछि, अरुन्धतीका नामबाट उनैले लेखेका किताबहरू पढेपछि बल्ल बुझेँ– उनले त्यो मोटो किताब देखाउन मात्र बोकेकी थिइनन्।

कलेजमा ओडिसाका गोलक, म र अरुन्धती दुवैका मिल्ने साथी थिए। गोलक आर्किटेक्ट भए पनि चित्रकलामा पोख्त थिए। अझै पनि उनीसँग मेरो नियमित कुराकानी हुन्छ। हामी दुवै अरुन्धतीबारे गफिन्छौँ। अरुन्धतीले यो नयाँ किताबमा गोलकबारे पनि चर्चा गरेकी छन्।

कलेजमा अरुन्धती गोवा घर भएका सिनियर जेरार्ड दा कुन्हासँग र म बाबुरामजीसँग नजिकियौँ। हामी दुवैका ब्वाइफ्रेन्डको जवाहरलाल नेहरू युनिभर्सिटी र दिल्ली युनिभर्सिटीका वामपन्थी कार्यकर्तासँग हिमचिम थियो। त्यसैले वैचारिक हिसाबले पनि मेरा र अरुन्धतीका साथीहरू साझा भए। हामी दुवैले विद्यार्थीकालमै आआफ्ना सिनियरसँग विवाह गर्नु पनि संयोग बन्यो।

अरुन्धतीले आमा र छोरीको सम्बन्धबारे यति सशक्त चित्रण गरेकी छन् कि के भन्नु! यस्तो गर्न ठूलो आँट चाहिन्छ।

सुरुमा अनौठो र असहज लागे पनि आर्किटेक्चर विभाग र होस्टलको माहोलमा मैले रमाइलो समय बिताएँ। पछि, होस्टलका रमाइला क्षण समेटेर सन् १९८९ मा फिल्म नै बन्यो, इन ह्विच एन्नी गिभ्स इट दोज वान्स। यसको लेखन अरुन्धती र निर्देशन प्रदीप कृसनले गरेका थिए। फिल्ममा अरुन्धतीले पनि खेलेकी छन्।

जनयुद्धकालमा एकपटक म लुकेरै अरुन्धती भेट्न म प्रदीप कृसनको घर पुगेकी थिएँ। त्यहाँ उनले आफ्नो बुकर पुरस्कारप्राप्त उपन्यास द गड अफ स्मल थिङ्सलाई आधा कल्पना र आधा आफ्नै यथार्थ भएको बताएको अझै सम्झन्छु।

त्यसबेलाकी हिप्पीजस्ती केटी यति ठूलो लेखक बन्लिन् भनेर मैले सोचेकै थिइनँ।

उनको संस्मरणात्मक किताब मदर मेरी कम्स टु मी पढेपछि त म उनीबाट अझै प्रभावित भएकी छु।

अरुन्धतीले आमा र छोरीको सम्बन्धबारे यति सशक्त चित्रण गरेकी छन् कि के भन्नु! यस्तो गर्न ठूलो आँट चाहिन्छ।

हामी आमा र बच्चाबीचको सम्बन्ध सधैँ हार्दिक हुन्छ, शुद्ध हुन्छ भन्ने सोच्छौँ। तर, त्यो होइन रहेछ। आमा कतिखेर खराब निस्किन्छन्, छोरीले कुन हदसम्म सोच्न सक्छिन् अनुमान गर्नै नसकिने रहेछ।

भारतमा दक्षिणपन्थीहरूको कडा निगरानीमा परेकी अरुन्धतीले नेपाल अरू एसियाली देशभन्दा अलग र तुलनात्मक रूपमा स्वतन्त्र भएको बताइन्।

विभिन्न प्रताडनाका बावजुद अरुन्धतीले आमाको क्षमतालाई जसरी सम्मान गरेर लेखेकी छन्, त्यो बहादुर लेखकले मात्र गर्नसक्छ। आमासँगको प्रेम-घृणाको सम्बन्धलाई उनको कलात्मक शिल्पले जुन दृष्टि दिएको छ, त्यो विशेष छ।

मेरो बुझाइमा अरुन्धती आफ्नो समयभन्दा अगाडि सोच्ने लेखक हुन्। अग्रगामी र निडर विचारकै कारण उनी विवादित पनि हुन्छिन्। तर, उनलाई समर्थन र श्रद्धा गर्ने पनि उत्तिकै छन्। युवा पुस्ताले अरुन्धतीलाई किन पराउँछन् भने उनको सोच युवासँग मिल्छ।

नेपाल भ्रमणमा अरुन्धती एउटा महिलावादी समूहले आयोजना गरेको कार्यक्रममा समेत वक्ताका रूपमा सहभागी भएकी थिइन्। म, बाबुरामजी र छोरी मानुषी उनलाई सुन्न त्यहाँ गएका थियौँ। छोटो-मीठो कुराकानी पनि भयो।

अरुन्धती रोयसँग मानुषी यमी भट्टराई। तस्बिर : बिक्रम राई

भारतमा दक्षिणपन्थीहरूको कडा निगरानीमा परेकी अरुन्धतीले नेपाल अरू एसियाली देशभन्दा अलग र तुलनात्मक रूपमा स्वतन्त्र भएको बताइन्। यहाँ एलजीबीटीआईक्यूहरूलाई पनि स्थान दिइएको र पत्रकारहरू पनि स्वतन्त्र रहेको उनको ठम्याइ थियो। नेपालकै सन्दर्भमा उनले पछिल्लो जेन-जी आन्दोलनप्रति विशेष रुचि देखाइन्।

‘मलाई काठमाडौँ आउँदा खुसी लाग्छ। यहाँबाट जहिले पनि उत्साहित भएर फर्किन्छु,’ उनले मसँग भनेकी थिइन्।

प्रस्तुति : प्रभाकर गौतम