काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका २‚ दुहबीस्थित शंकर जनता माविका प्रधानाध्यापक धनिकलाल ठाकुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले आव ०७८/७९ मा आईसीटी ल्याब स्थापना तथा आव ०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आईटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको दाबीसहित आज मुद्दा दायर गरेको हो।
प्रधानाध्यापक ठाकुरसँगै तत्कालीन लेखापाल अरुणकुमार कुशियैतविरूद्ध जनही आठ लाख ६२ हजार १५२ रुपैयाँ बिगो रकमसहित विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ। अख्तियारले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आव ०७८/७९ को आईसीटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको ८७ हजार ५०० रुपैयाँबराबरको प्रोजेक्टर तथा आव ०७९/८० मा आईटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको एक करोड, २४ लाख ६५२ रुपैयाँबराबरको स्कुल सफ्ट्वेयर र स्ट्यान्ड अहिले विद्यालयको अभिलेखमा नदिखिएको हुँदा सजायको माग दाबीसहित आज (सोमबार) विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।”
ठाकुर र कुशियैतले आपसी मिलेमतो तथा योजनामा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना, हानि-नोक्सानी तथा दुरुपयोग गरेको हुँदा निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकाले निज प्रतिवादीलाई सजायको मागसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।