काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

२९ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। बालुवाटरस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सझदारीपत्रमा राष्ट्र बैंकका तर्फबाट गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी र आईएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एन्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार आईएफसीले नेपालमा जलवायु वित्त विकासको निम्ति राष्ट्र बैंकलाई प्राविधिक सहायता उपलब्ध गराउनेछ। उक्त परियोजनाअन्तर्गत जलवायु वित्तसम्बन्धी रणनीति र यसको मार्गचित्रको मस्यौदा तयार गरिने र उक्त रणनीतिलाई चरणबद्ध रूपमा कार्यान्वयनका निम्ति सोसम्बन्धी ढाँचासमेत तयार गरिने राष्ट्र बैंकले बताएको छ।

जलवायु वित्तको रणनीति तर्जुमा र कार्यान्वयनका सन्दर्भमा राष्ट्र बैंकको र समग्र वित्तीय क्षेत्रको क्षमता अभिवृद्धिका निम्ति आईएफसीले तालिम तथा क्षमता विकासका कार्यक्रमहरू सञ्चालन हुने राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “उक्त परियोजनाको कार्यान्वयनबाट नेपालमा जलवायुसम्बद्ध वित्तीय जोमिखलाई सम्बोधन गर्दै जलवायु अनुकूलनका क्षेत्रमा वित्तीय स्रोत परिचालन प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ।” उक्त परियोजना सेप्टेम्बर २०२८ सम्म सञ्चालन हुनेछ।

कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले आईएफसी र राष्ट्र बैंकबीच भएको नयाँ समझदारीबाट नेपालमा जलवायु वित्तको नीतिगत विकास र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

यसैगरी आईएफसीका व्यवस्थापक स्मिथले राष्ट्र बैंकसँगको साझेदारीबाट नेपालमा जलवायु वित्तको रणनीतिक विकास र कार्यान्वयन दिशामा परिणाममुखी उपलब्धि हासिल हुने अपेक्षा राखेका छन्।