काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

२९ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। चितवन राष्ट्रिय निकुञ्जमा हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई कतार पठाइँदै छ। चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्तीाई सौराहामा सोमबार विधिवत् कार्यक्रम गरी बिदाइ गरिएको हो।

वैशाख २०८१ मा कतारका अमिर सेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपालले दुईवटा हात्ती उपहार दिने घोषणा गरेको थियो। सोही निर्णयअनुसार यी हात्ती अब कतारको अलखोर चिडियाखानामा रहनेछन्।

सौराहाबाट ११ किलोमिटर टाढाको खैरहनीमा तयार गरिएको विशेष खोरसहित हात्तीलाई ट्रकमा राखेर भैरहवास्थित लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइएको छ। भैरहवामा नेपालले कतारलाई हात्ती हस्तान्तरणको विशेष कार्यक्रमपछि चार्टर्ड विमानमार्फत कतार पठाइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए।

खगेन्द्रप्रसाद र रुद्रकली अब कतारको अलखोर चिडियाखानामा रहनेछन्

नेपालले अन्य विभिन्न मुलुकलाई गैँडा उपहार दिए पनि हात्ती दिन लागिएको यो पहिलोपटक हो। विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले हात्ती कतार पठाउने प्रक्रिया पूरा भएको बताए। उनका अनुसार पठाउन लागेकामध्ये खगेन्द्रप्रसाद भन्ने भाले हात्ती ६ वर्षको र रुद्रकली भन्ने पोथी हात्ती ७ वर्षका छन्।

कतारमा हात्तीको रहनसहन, आहार र हावापानी अनुकूलनबारे नेपालबाट प्राविधिक टोली यसअघि नै पुगेर स्थलगत अध्ययन गरिसकेको प्रमुख संरक्षण अधिकृत पन्तले जानकारी दिए। हात्तीसँगै दुई माहुते र पशु स्वास्थ्य प्राविधिक पनि एक महिनाका लागि कतार जानेछन्।