काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

२९ मंसिर २०८२
अ+
अ-

काठमाडौं। नेपालले एसीसी यू-१९ एसिया कपमा लगातार दोस्रो हार बेहोरेको छ।

द सेभेन्स स्टेडियम दुबईमा आइतबार भएको खेलमा बंगलादेशले नेपाललाई ७ विकेटले पराजित गरेको हो। नेपालले दिएको १३१ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले २४.५ ओभरमा ३ विकेट गुमाएर १३५ रन बनाएको हो।

योसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको छ। नेपालले पहिलो खेलमा श्रीलंकासँग ८ विकेटको हार बेहोरेको थियो।

बंगलादेशको भने यो लगातार दोस्रो जित हो। पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई ३ विकेटले हराएको थियो। योसँगै समूह ‘बी’ मा रहेको बंगालदेशले ४ अंकसहित सेमिफाइनलको सम्भावना मजबुत बनाएको छ। श्रीलंकाको भने २ अंक मात्र छ।

बंगलादेशलाई जित दिलाउन ओपनर जवाद अब्रादले अविजित रहँदै सर्वाधिक ७० रन बनाए।

उनले ६८ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। कलम सिद्दिकी ३४ रनमा आउट हुँदा रिजन हुसेन ६ रनमा अविजित रहे।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनाएको थियो।

नेपालका अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए। ४३ बल खेलेका उनले २ छक्का प्रहार गरे। आशिष लोहार २३, साहिल पटेल १८ र नीरजकुमार यादव १४ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बंगलादेशका मोहम्मद साबुजले सर्वाधिक ३ विकेट लिए। ७ ओभर बलिङ गरेका उनले १ मेडनसहित २७ रन खर्चिए। साद इस्लाम रजिन, मोहम्मद सहरिया अल-अमिन र मोहम्मद अजिजुल हकिम तमिमको नाममा समान २ विकेट रह्यो।