अपराध
धरौटीमा छुटेको वर्षदिन पनि नपुग्दै ठगीकै आरोपमा पुन: पक्राउ परेका अनुपकुमार सिंहको जालझेलको झलक
बेलायतको म्यानचेस्टर सहरमा काम लगाइदिने भन्दै ४८ जनालाई ठगी गरेको आरोपमा प्रहरीले २७ मंसिरमा अनुपकुमार सिंह र लड्डुबहादुर श्रेष्ठलाई पक्राउ गर्यो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-४ बस्दै आएका ५१ वर्षीय सिंह र भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ बस्ने ५१ वर्षकै श्रेष्ठलाई झापाको मेचीनगर नगरपालिका-१० धुलाबारीबाट पक्राउ गरिएको थियो।
प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार पक्राउ परेकामध्ये सिंह महाबज्रयोगिनी एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिका सञ्चालकका साथै आफूलाई पूर्वराजा ज्ञानेन्द्रको भान्जा नाता पर्ने बताउँथे। उनले बेरोजगार युवायुवतीलाई म्यान्चेस्टर सहरमा सञ्चालित मिडल्यान्ड होटलमा काम लगाइदिने भनी उक्त होटल र रोयल बिजनेस टिमबीचको नक्कली रोजगार सम्झौतापत्र बनाउँथे। बेलायती दूतावास काठमाडौँको नक्कली पत्र, नक्कली भिसा, नक्कली हवाई टिकटलगायत कागजात पनि देखाउँथे।
एसपी आचार्यका अनुसार त्यस्ता कागजात देखाएर सिंह र श्रेष्ठले चार करोड ३९ लाख ५१ हजार ५५८ रुपैयाँ ठगी गरेको देखिएको छ।
नफस्नेहरूलाई नयाँ नाम र घटना लागे पनि अनुपकुमार सिंह ठगी संसारका यस्ता नामुद व्यक्ति हुन्, जसलाई आम नेपालीले चिन्नैपर्छ। उनीबारे थाहा पाउनैपर्छ। लामो समयदेखि ठगीलाई नै पेसा बनाएका उनले कहाँ, कतिबेला कसलाई ठगिरहेका हुन्छन्, ठगिनेलाई आफू ठगिइसकेपछि मात्र थाहा हुन्छ।
केसीले चैत २०८० मा दाहाललाई खनालको मोबाइल नम्बर दिए। उनले खनालसँग कुरा गर्न थालिन्। खनालले भारतको बाटो हुँदै अमेरिका पठाइदिन सक्ने बताए।
चार करोड रुपैयाँ ठगी आरोपमा पक्राउ त सिंहको पछिल्लो प्रकरण मात्र हो। खासमा उनी ठगी मुद्दामै गएको वर्ष फागुनमा पक्राउ परी १२ लाख रुपैयाँ धरौटीमा छुटेका थिए।
आफूलाई राजाका भान्जा भन्ने उनै सिंहले यसअघि एक परिवार र तिनका आफन्तलाई ‘घर न घाट’ को हुने गरी कसरी ठगेका थिए? यहाँ त्यसैको कथा छ–
फागुन २०८० तिर रुकुम बाँफिकोट-१ की ३३ वर्षीया सुभद्रा दाहालले टिकटकमा एउटा भिडियो देखेका भरमा राजकुमार केसीलाई पछ्याइन्। काभ्रे धुलिखेल नगरपालिका-२ का ४४ वर्षीय केसी काठमाडौँ कलंकीमा दिव्यज्योति इन्टरनेसनल ल्याङ्वेज एन्ड कन्सल्टेन्सी प्रालि चलाउँथे।
दुई छोरी र एक छोराकी आमा दाहालका श्रीमान् प्रहरी निरीक्षक (अहिले सम्बन्धविच्छेद) थिए। उनीहरूबीच दुई वर्षयता सम्बन्ध बिग्रिरहेको थियो। श्रीमान्सँगको सम्बन्ध अगाडि बढ्न नसक्ने परिस्थिति बनिरहेका बेला दाहाललाई कलिला सन्तानको भविष्यप्रति चिन्ता लाग्न थाल्यो। जेठी छोरी भर्खर ११ वर्ष पुग्दै थिइन्। उनले विदेश जाने सोच बनाइन्। केसीसँगको उनको सम्पर्कको पृष्ठभूमि यही थियो।
ललितपुर महालक्ष्मी-४ मा बस्दै आएकी उनले केसीसँग टिकटकमै कुराकानी अगाडि बढाइन्। आफूसँगै अन्य व्यक्ति पनि युरोपेली मुलुक जाने तयारी गरिरहेको भन्दै कोही मानिस भए चिनाइदिन आग्रह गरिन्। केसीले रामचन्द्र खनाल सम्झिए। गोरखा जिल्ला गोरखा नगरपालिका-१ का ४४ वर्षीय खनाल ‘प्रवीण’ भनेर चिनिन्थे। उनीसँग बाफलस्थित जिमखानामा भेट भएपछि केसीको मित्रता बढेको थियो। खनालले युरोपका विभिन्न देशमा सिजनल र भिजिट भिसामा मानिस पठाउने भन्थे।
केसीले चैत २०८० मा दाहाललाई खनालको मोबाइल नम्बर दिए। उनले खनालसँग कुरा गर्न थालिन्। खनालले भारतको बाटो हुँदै अमेरिका पठाइदिन सक्ने बताए। दाहालले त्यो प्रस्ताव अस्वीकार गरिन्। खनालले ‘अमेरिका जाने अरू उपाय छँदै छन् नि’ भन्दै अर्को बाटो खोज्ने आश्वासन दिए।
खनालको एउटा हातमा ठूलो घाउ थियो। उपचार गर्न भारत जाने योजना बनाइरहेको र खर्चको जोहो नभइरहेको बेला दाहालले अमेरिका जाने कुरा गरिरहेकी थिइन्। त्यस्तो बेला खनाललाई ‘दैवले तँ चिता म पुर्याउँछु’ भनेजस्तै भयो। खनालको घाउ देखेपछि दाहालको हृदय पग्लियो। खनालले परिस्थिति आफूअनुकूल बनाउँदै अमेरिका लैजाने सर्तमा तत्काल पैसा दिन आग्रह गरे। दाहालले केही दिनमै १९ लाख ८० हजार रुपैयाँ दिइन्।
खनाल उपचार गर्न भारत गए तर, नेपाल आउने टुंगो भएन। दाहाल भन्छिन्, “समय लम्बिँदै गयो। प्रक्रिया अघि बढेन। मैले केसीलाई फोन गरेर पैसा लगिसकेको तर काम नगरिदिएको कुरा सुनाएँ।”
उनका अनुसार केसीले खनाललाई फोन गरे। मोबाइल स्विच्ड अफ आयो। ह्वाट्सएपमा टेक्स्ट र भोइस मेसेज पठाए।
प्रत्युत्तरमा केसीले आफू भारतमा उपचार गराइरहेको र फर्केर पैसा फिर्ता गर्ने बताए। केसीले यो खबर पठाएपछि दाहाल केही समय पर्खिइन्। समय लम्बिन थालेपछि ह्वाट्सएपमा फोन र मेसेज गर्न थालिन्। तर, सकारात्मक सन्देश आएन। त्यसपछि दबाब दिन थालिन्।
सिंहले मुख मिठ्याउँदै दाहाललाई बोलाउन भनिहाले। खनालले पनि ह्वाट्सएपमा फोन लगाइहाले। ‘राजपरिवारको मान्छे मसँग छन्। उनले तुरुन्तै अमेरिका पठाइदिन्छन्,’ खनालले भने, ‘उहाँले हिमानी ट्रस्टबाट विदेश पठाइदिनुहुन्छ नि!’
अब भने खनाल घोत्लिन बाध्य भए। परिस्थिति कसरी सल्टाउने? दिमागमा आए- अनुपकुमार सिंह।
बझाङका सिंह काठमाडौँ अनामनगरमा बस्थे। उनले आफूलाई मनोजकुमार सिंह पनि भनेर चिनाउने गरेका थिए। उनीहरूको भेट भदौ २०८० मा बाराको सिमरामा भएको थियो। घरजग्गा खरिद-बिक्रीको सिलसिलामा पुग्दा खनालसँग भेट भई चिनजान भएको दाबी सिंहको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीका अनुसार सिंह नपुगेको उच्चपदस्थको जमघट सायदै होला। उनी जमघटमा चिनजान गर्दा ‘म उहाँको एकदमै नजिकको मान्छे’ भन्ने गर्थे। धेरै भीआईपीसँग नजिकको सम्बन्ध भएको बताउँदै पाइलटसमेत रहेको भनी ढाँट्दथे।
‘राजाको भान्जा’
सिंहले खनालसँग ‘म ज्ञानेन्द्र सरकारको भान्जा’ भनी चिनाएका रहेछन्। खनालले नम्बर साटासाट गरी ‘दाइ’ नाता लगाइहाले।
‘राजाकै भान्जाले त केही उपाय निकाल्लान् नि!’ खनाललाई लाग्यो।
गएको कात्तिकमा सिंहकहाँ पुगेर आफ्नो तनाव सुनाए। पुलिसले पक्रने हो कि भन्ने डर पनि पोखे।
‘म के गरुँ? अब तपाईं नै भन्दिनुस्,’ सिंहले भने।
‘कम्तीमा दुई जनालाई अमेरिका पठाइदिन्छु भनी हजुरले सुभद्रालाई भन्दिनुपर्यो। हजुरले त्यति बोल्दिनुभयो भने थप तीन लाख आउँछ,’ खनालले भने।
सिंहले मुख मिठ्याउँदै दाहाललाई बोलाउन भनिहाले। खनालले पनि ह्वाट्सएपमा फोन लगाइहाले। ‘राजपरिवारको मान्छे मसँग छन्। उनले तुरुन्तै अमेरिका पठाइदिन्छन्,’ खनालले भने, ‘उहाँले हिमानी ट्रस्टबाट विदेश पठाइदिनुहुन्छ नि!’
दाहाललाई विश्वस्त पार्न हुँदै नभएको प्रसंग पनि जोडे। ‘हेर्नुस् बहिनी, अनुप सिंह बिरामी हुँदा पूर्वयुवराज-युवराज्ञी पारस-हिमानी अस्पतालमै आउनुभएको थियो। मैले आँखै अगाडि देखेको। तपाईंको चाहना कसो पूरा नहोला!’ उनले भने।
‘तपाईंलाई लिन एउटा आर्मी आउँछ। तु अनामनगर भाटभटेनी आउनू,’ खनालले भने।
आर्मी भनिएका ती व्यक्ति खनालका भान्जा नाता पर्ने सीताराम काफ्ले थिए। उनले काफ्लेलाई तयारी अवस्थामा अनामनगर पठाए। “आर्मीको लोगो भएको ट्र्याक-सुट लगाएका ती व्यक्ति भाटभटेनीमा भेटिए,” दाहाल भन्छिन्, “मलाई मोटरसाइकलमा अनुप सिंहको घरमा पुर्याए।”
सिंहले घरै आइपुगेकी दाहाललाई पूर्वराजपरिवारसँगको नाता-सम्बन्ध जोड्दै लोभ्याउन थाले। सुरुमा उनले दाहालको पारिवारिक स्थिति बुझे। सके सबै अमेरिका जाने दाहालको प्रस्ताव थियो। उनीबाहेक तीन छोराछोरी पनि थपिएपछि के चाहियो र! सिंहले सबैलाई अमेरिका पठाइदिने आश्वासन देखाए।
उनी हतार-हतार बोलाएको ठाउँमा पुगिन्। त्यहाँ अधिकारी भेटिए। ‘हो, उहाँ नै हो। उहाँ त ज्ञानेन्द्र सरकारको नजिकको मानिस। दरबारको यताउता सबै उहाँले मिलाउने हो,’ सिंहले चिनाइदिए। दाहालले नमस्कार टक्र्याइन्।
‘लेरोई प्यालेस वासिङ्टन डीसी, २०००८।’ ‘पूर्वराजदूतकी श्रीमती मुनाराज्यलक्ष्मीदेवी राणाको त्यहाँ घर छ। एक्ली हुनुहुन्छ। श्रीमान्, छोराछोरी कोही छैनन्। अथाह सम्पत्ति छ। ती वृद्धाको सेवा गर्ने कोही छैनन्। महिनाको ६२ सय डलर पाउनुहुन्छ,’ सिंहले एकै सासमा भने।
‘छोराछोरीको अभिभावकत्व चाहिँ मुमा बडामहारानी रत्न र पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिकाले गर्नुहुन्छ। छोराछोरीलाई अमेरिका कसरी लैजाने त्यो पूर्णिकाले मिलाउने कुरा हो, तीनै छोराछोरीलाई ब्रिटिस इन्टरनेसनल स्कुल वासिङ्टनमा पढाइनेछ,’ सिंहले यसो पनि भन्न भ्याए।
“महिनाको ६२ सय डलर, छोराछोरीले सित्तैमा पढ्ने! आफ्नो काबुबाहिरको आकर्षक प्रस्ताव थियो,” दाहाल भन्छिन्, “राजपरिवारको नाता-सम्बन्धको मानिसले यस्तो कुरा गरिदिँदा को लोभिँदैन हैन र?”
सिंहले नागरिकता, फोटो, छोराछोरीको जन्मदर्ताको प्रतिलिपि मागे। दाहाल ती सबै कागजात दिएर बिदा भइन्। साथमा तीन लाख रुपैयाँ सिंहको हातमा राखिदिइन्।
रेस्टुराँमा बायोमेट्रिक
केही दिन त्यत्तिकै बित्यो। सिंह कागजात मिलाउँदै छु भन्थे। एकदिन दाहाललाई फोन गरी निर्मलनिवासमा रत्नसँग भेटाउने पनि बताए। दाहाल थप उत्साहित हुँदै गइन्।
तर, केही समयमै सिंहले अर्को फोनमा भने, ‘ए! पख्नुस् त, रत्नले बाहिरको कोही व्यक्ति भेटघाट गर्नुहुन्न। दरबारमा सबै चल्ने अनिल अधिकारी हुनुहुन्छ,’ सिंहले भने, ‘तपाईं यता अल्का अस्पताल आउनुस् त।’
उनी हतार-हतार बोलाएको ठाउँमा पुगिन्। त्यहाँ अधिकारी भेटिए। ‘हो, उहाँ नै हो। उहाँ त ज्ञानेन्द्र सरकारको नजिकको मानिस। दरबारको यताउता सबै उहाँले मिलाउने हो,’ सिंहले चिनाइदिए। दाहालले नमस्कार टक्र्याइन्।
“ती व्यक्तिप्रति मेरो शंका छ। किनकि, ती अधिकारी भनिएका व्यक्ति र अस्ति पूर्वराजा पोखराबाट काठमाडौँ आउँदा उनी चढेको गाडीमा देखिने व्यक्तिको अनुहार मिल्छ,” दाहाल भन्छिन्।
त्यतिबेलासम्म सिंहले दाहालकी बहिनी नम्रता केसीलाई न्युजिल्यान्ड र अन्य चार नातेदार भाइलाई बेलायत पठाइदिने भनी पैसा उठाउन थालिसकेका थिए। उनले यी सबै काम रोयल बिजनेस टिम नेपालले गर्ने बताइदिए। सिंहले ‘मुनानिवास’ को लोकेसनको प्रिन्ट कपी नै उपलब्ध गराइदिए। न्युजिल्यान्डमा पूर्वराजपरिवारसँग सम्बन्ध भएका व्यक्तिबारे बताउन थाले। त्यताका नागरिक लुथमिला इमान हिलरी र मेरी पी कोस्टर ओनर नेपालको पूर्वराजपरिवारसँग निकट रहेको भन्दै भेट गराइदिने बताए।
अधिकारीसँग भेट गराएपछि अर्को दिन सिंहले बायोमेट्रिक लिन भनी दाहाललाई इमाडोलको एक रेस्टुराँमा बोलाए। नम्रतालाई भने बालकुमारीको माम्सा क्याफेमा बोलाएर बायोमेट्रिक गराए। त्यसपछि सिंहले बायोमेट्रिक डकुमेन्ट लिन भन्दै दाहाललाई सोल्टी होटलमा बोलाए। त्यहाँ पुगेपछि होटलका मालिक सिद्धार्थशमशेर राणालाई भन्दै फोन गरे।
सिंहले विश्वास दिलाउन अनेक तरिका अपनाएको देखिन्छ। छोरीको भिसा भन्दै पठाएपछि पूर्वयुवराज पारस शाहले पठाएको मेसेज पनि देखाए।
“सोल्टी होटल राजपरिवारकै मान्छेले चलाएको हो भनी मलाई त्यहाँ पुर्याइएको थियो। तर, त्यहाँ सिद्धार्थशमशेर राणा हुनुहुन्नथ्यो,” दाहाल भन्छिन्।
सिंहले बायोमेट्रिक डकुमेन्टका लागि भन्दै २५ हजार रुपैयाँ मागे। काम नभइरहेको बेला लाखौँ बुझाइरहेकी दाहालले त्यो रकम दिइहालिन्। “तर, बायोमेट्रिक डकुमेन्ट दिएनन्। पछि आउँछ भनेर पठाए। जेठी छोरी क्रिस्टिनाको भिसा भन्दै ह्वाट्सएपमा पठाइदिए,” दाहाल भन्छिन्।
दाहालको भिसा आउँछ आउँछ भनिरहेका थिए। कान्छी छोरी र छोराको नचाहिने बताए।
‘किन चाहिँदैन?’ दाहालले सोधिन्।
‘त्यो पूर्णिकाले मिलाउने हो,’ सिंहले भने।
‘उनीहरू भिसाबिना अमेरिका कसरी जान्छन् त?’ दाहालले सोधिन्।
‘त्यो भीभीआईपी भिसा हो। प्रचण्ड-केपी ओलीलाई सोध्नू न, भीभीआईपी भिसा भनेको के हो? त्यस्तै, खालको फोर स्टारवाला मल्टिपल भिसामा लैजाने हो,’ सिंहले भने।
नक्कली भिसा
सिंहले विश्वास दिलाउन अनेक तरिका अपनाएको देखिन्छ। छोरीको भिसा भन्दै पठाएपछि पूर्वयुवराज पारस शाहले पठाएको मेसेज पनि देखाए। ‘बधाई छ नानी, नेपाल र नेपाली कल्चर नबिर्सिनू’ मेसेजमा लेखिएको थियो। यी सबै चाँजोपाँजो मिलाउने भनिएको रोयल बिजनेस टिमका तर्फबाट छाप लगाइएका खेस्रा कागज पनि आए। सन् १९५१ मा स्थापना भएको लेखिएको त्यो टिमका तर्फबाट उडानको तालिका बनाएर छापसमेत लगाइएको थियो। अमेरिकामा ३ जनवरी २०२५ मा सेमिनार भएको भन्दै त्यसअघि नै छोराछोरीसहितलाई लैजाने भनिएको थियो। बेलायत र न्युजिल्यान्ड भने ७ जनवरीमा पठाइदिने भनिएको थियो।
एक साता पर्खिंदा पनि कुनै नतिजा आएन। दाहालले मिडियामा गएर पोल खोलिदिने चेतावनी दिइन्। त्यसपछि सिंह फोन अफ गरी २१ पुसमा सम्पर्कविहीन भए।
उडान तालिका र छोरीको भिसा ह्वाट्सएपमा आएपछि दाहाल अमेरिकामा रहेका भाइ पर्ने व्यक्तिलाई सुनाउन हतारिइन्। उनले भिसा पठाइदिइन्। उताबाट भाइले जवाफ दिए, ‘यो त नक्कली भिसा हो।’
सुरुमा त उनले पत्याइनन्। तर, भाइले पटक पटक उही कुरा दोहोर्याए। त्यही बेला रोयल टिमबाट निरन्तर खेस्रा कागजसहित मेसेज आउन थाल्यो। “बाहिर हल्लाखल्ला भयो। अब अन्य कोहीलाई पनि रोयल बिजनेस टिमबाट नपठाउने मेसेज आउन थाल्यो,” दाहाल भन्छिन्।
भाइले नक्कली भिसा भन्नु, यता सिंहका शंकामिश्रित म्यासेज आउनु। “झन्डै बेहोस भएँ। पृथ्वी फनफनी घुमिरहेको देखें,” उनी भन्छिन्, “म त ठगहरूको जञ्जालमा परेकी रहेछु।”
उनले सिंहलाई फोनमा भनिन्, ‘हिमानी ट्रस्टले मान्छे पठाउने रे? गफ दिएर ठग्ने?’
यस्तो अवस्था आउँछ भन्ने बुझेका सिंहले अप्ठेरो नमानी भन्दिए, ‘कुर्नुको विकल्प छैन।’
एक साता पर्खिंदा पनि कुनै नतिजा आएन। दाहालले मिडियामा गएर पोल खोलिदिने चेतावनी दिइन्। त्यसपछि सिंह फोन अफ गरी २१ पुसमा सम्पर्कविहीन भए। दाहाल कानुनी परामर्शमा जुटिन्। उनले ८ माघमा जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिइन्। एक महिनापछि ९ फागुनमा सिंह पक्राउ परे।
अर्काको खातामा पैसा
दाहालले आफू र छोराछोरीलाई अमेरिका लैजान भनी नगदै ९३ लाख बुझाएको प्रहरी अनुसन्धानले देखाएको छ। उनकी बहिनीलगायत व्यक्तिबाट सिंह र उनको समूहले एक करोड २७ लाख ८० हजार रुपैयाँ ठगी गरेको देखिन्छ। प्रहरीले अन्य विविध रकमसमेत जोडेर एक करोड ३१ लाख ४० हजार बिगो माग गर्दै सरकारी वकिलकहाँ अनुसन्धान प्रतिवेदन बुझायो।
चालक व्यञ्जनकारले आफू ५-६ वर्षयता वेगनर गाडी खरिद गरी व्यवसाय तथा चालक पेसामा आबद्ध रहेको बताएका छन्। सिंहसँग तीनचार महिनाअघि मात्र भेट भएको बयान उनले दिएका छन्।
त्यसरी रकम बुझ्नेमा सिंहका चालक ललितपुर-९ च्यासलका ४४ वर्षीय सचिन व्यञ्जनकार, इलाम फाकफोकथुम-४ का ३८ वर्षीय कानुन व्यवसायी दीपकराज खनाल र गुल्मी मुसिकोट-४ का ३३ वर्षीय किरणसिंह कार्कीसमेत रहेको प्रहरी अनुसन्धानले देखाएको छ। उनीहरूसहित ६ जनाविरुद्ध जाहेरी परेकामा रामचन्द्र खनाल र किरणसिंह कार्की फरार छन्।
सरकारी वकिल कार्यालय ललितपुरले प्रहरी प्रतिवेदनका आधारमा गत फागुन २७ गते ललितपुर जिल्ला अदालतमा ठगीसम्बन्धी कसुर मुद्दा चलाएको थियो। जिल्ला न्यायाधीश टेकराज जोशीको इजलासले त्यसको भोलिपल्ट प्रतिवादीहरूसँग धरौटी माग्यो। केसी, खनाल र व्यञ्जनकार अदालतले मागेको रकम राखेर छुटे। सिंह १२ लाख धरौटी बुझाउन नसकेर कारागार चलान भए। केही समय कारागार बसेपछि धरौटी बुझाएर मुक्त भए।
खनालले सरकारी वकिलसमक्ष बयानमा भनेका छन्, ‘अनुप सिंहले फसाए।’ आफूले कानुन व्यवसायीका रूपमा गत कात्तिक २० गते बबरमहलस्थित एक रेस्टुराँमा सिंहलाई भेटेको उनले बयान दिएका छन्। सिंहले त्यसबेला भनेका थिए, ‘मेरो व्यवहार बिग्रिएको छ। भविष्यमा आइपर्ने मुद्दाहरूमा कानुनी परामर्श तथा व्यवहार सल्टाइदिने उपाय दिनुहोला।’
सिंहले दाहाललगायत पीडितको कुरा आफूसँग नगरेको बयान खनालले दिएका छन्। सिंहले उक्त भेटपछि आफूलाई एकदुई वटा मुद्दामा प्रतिरक्षा बहस गर्ने काम दिएको उनले बताएका छन्। ‘एउटा मुद्दाको प्रतिरक्षा सिलसिलामा बैंकको क्यूआर मागेका थिए। उक्त पैसा सुभद्राले पठाएकी रहिछन् भन्ने कुरा मैले जाहेरी पढिसकेपछि मात्र थाहा पाएँ,’ खनालको बयान छ। त्यसबाहेक आफू कुनै किसिमको प्रलोभनमा नपरेको, ठगी तथा कागजात तयार पार्ने कार्यमा आफ्नो संलग्नता नरहेको दाबी उनको छ।
चालक व्यञ्जनकारले आफू ५-६ वर्षयता वेगनर गाडी खरिद गरी व्यवसाय तथा चालक पेसामा आबद्ध रहेको बताएका छन्। सिंहसँग तीनचार महिनाअघि मात्र भेट भएको बयान उनले दिएका छन्। ‘ललितपुरको इमाडोलमा भेट हुँदा सिंहले गाडी खोजिरहेका थिए। त्यहीबारेमा कुराकानी गर्दा महिनाको ३५ हजार रुपैयाँ तलब दिने भनेर गाडी भाडामा लिएका हुन्,’ व्यञ्जनकारले बयानमा भनेका छन्।
एसएसपी बोगटीका अनुसार रोयल बिजनेस टिम भन्ने संस्था के हो भनेर खुलेको छैन। ती सबै संस्थाको नक्कली कागजात बनाएको हुँदा आधिकारिकता केही नभएकाले संस्थासँग जोडेर अनुसन्धान नगरिएको उनी बताउँछन्।
त्यसपछि छोरीलाई दैनिक स्कुलबाट घर पुर्याउने-ल्याउने गरेको, कहिलेकाहीँ सिंहको काम पर्दा र उनको परिवारका सदस्यलाई कतै जानुपर्दा आफू गाडी लिएर जाने गरेको उनको भनाइ छ। ‘यो सिलसिला चलिरहँदा सिंहले मेरो क्यूआर मागेका थिए। मैले सिंहले हालेको होला भन्ने ठानेको थिएँ। नम्रता केसीले पो पैसा हालेकी रहिछन् भन्ने कुरा पक्राउ परेर जाहेरी हेरेपछि मात्र थाहा भयो,’ उनले बयानमा भनेका छन्। अन्य दुई व्यक्तिले आफ्नो खातामा पैसा पठाएकोबारे सोध्दा सिंहले ‘त्यो मेरो पैसा हो भाइ, डराउनुपर्दैन’ भनेको व्यञ्जनकारले बयानमा उल्लेख गरेका छन्।
सिंहले २६ महिनामै पीआर मिलाइदिने भनेको अनुसन्धानमा खुलेको छ। अमेरिकाको भिसा, वैदेशिक रोजगार विभागको पत्र, अमेरिकी दूतावासको नम्बर पत्र, रोयल बिजनेस टिमबाट दिइएका पत्र, टिकट, अमेरिकाको ठेगाना, स्कुलको नाम, बायोमेट्रिकको समयका कागजात नक्कली बनाएको अनुसन्धानमा देखिन्छ। तर, दाहालकी छोरीको नक्कली भिसा कहाँबाट ल्याए भन्ने तथ्य प्रहरीले पनि फेला पार्न सकेको छैन।
अदालत मात्र आशा
“नक्कली भिसा रामचन्द्र खनालको ह्वाट्सएपबाट फर्वार्ड भएर अनुप सिंहकोमा आएको देखिन्छ,” एसएसपी बोगटी भन्छन्, “अनुपले रामचन्द्रले छापेको भनेका छन्। रामचन्द्र फरार रहेकाले उनी पक्राउ नपरेसम्म नक्कली भिसा कहाँ छापियो भन्ने कुरा खुल्दैन।”
दाहाल भने पूर्वविशिष्ट व्यक्तिको नाम लिएर ठगी भए पनि प्रहरीले त्यस पाटोबाट राम्रोसँग अनुसन्धान नगरेको गुनासो गर्छिन्। प्रहरीले अनुसन्धानमा कुनै कमजोरी नभएको दाबी गरेको छ। एसएसपी बोगटीका अनुसार रोयल बिजनेस टिम भन्ने संस्था के हो भनेर खुलेको छैन। ती सबै संस्थाको नक्कली कागजात बनाएको हुँदा आधिकारिकता केही नभएकाले संस्थासँग जोडेर अनुसन्धान नगरिएको उनी बताउँछन्।
“सबै किर्ते र नक्कली कागजात बनाइएका छन्। पीडितलाई विश्वास दिलाउनका लागि गरिएका प्रयासस्वरूप ती कार्य गरेको देखिन्छ,” उनी भन्छन्, “हामीले अनुसन्धानमा कुनै चिज बाँकी राखेका छैनौँ।”
दाहालले छोराछोरीसहित अमेरिका उड्ने सपना साकार पार्न लाखौँ रकम ऋण लिएकी थिइन्। आफन्तबाट लिएको ऋण कसरी तिर्ने भन्ने कुराले भोक-निद्रा हराएको उनी सुनाउँछिन्। “यो काम गर्ने सिलसिलामा धेरै ठाउँ धाइयो। अन्य खर्च पनि भयो। म अहिले बिजोग अवस्थामा छु,” उनी भन्छिन्, “अदालतबाट क्षतिपूर्ति भराइएला भन्ने आस चाहिँ छ।”
एसएसपी बोगटीका अनुसार प्रतिवादी बनाइएका व्यक्तिलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम क्षतिपूर्ति भराउन मागदाबी लिइएको छ। “प्रतिवादीमध्येका राजकुमार केसीले प्रत्यक्ष रूपमा रकम लिएको/खाएको नदेखिए पनि पीडितलाई रामचन्द्र खनालको नम्बर उपलब्ध गराएपश्चात् ठगी कार्यको प्रारम्भ भई कसुरले पूर्णता प्राप्त गरेको देखिँदा केसीबाट समेत मनासिब क्षतिपूर्ति भराउन माग दाबी लिइएको छ,” बोगटी भन्छन्।