काठमाडौँ। नेकपा एमालेको अध्यक्षमा केपी ओलीले उम्मेदवारी दर्ता गराएका छन्।
भृकुटीमण्डपमा भइरहेको एमालेको ११औँ अधिवेशनबाट अध्यक्षमा ओली तेहरिन खोजेका हुन्। अध्यक्षको उम्मेदवरी दिएको ओलीको प्रस्तावक रामबहादुर थापा रहे भने समर्थक विष्णु पौडेल रहेका छन्।
अहिले महाधिवेशनको बन्दसत्रको दोस्रो दिन नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन भइरहेको छ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार दर्ता प्रक्रिया चलिरहेको हो। आयोगले हिजो मतादाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया अघि बढाएको हो।
आयोग अध्यक्ष सुब्बाका अनुसार नयाँ नेतृत्वका लागि भोलि (मंगलबार) बिहान ११ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। महाधिवेशनस्थल भृकुटीमण्डपमा हुने मतदानमा यसपालि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिँदै छ।
महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन्। नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो। जहाँ ओलीले भीम रावलसँग प्रतिस्पर्धा गरेका थिए।
हेर्नुहोस् थप तस्बिर :
