काठमाडौँ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना कार्यान्वयन एकाई प्रमुख विनेश मुनकर्मीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुनकर्मीविरुद्ध आज (मंगलबार) मुद्दा दायर गरेको हो।
मुनकर्मीसँग अख्तियारले दुई करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ बिगो र सजाय माग दाबी लिइएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए। अधिकारीका अनुसार मुनकर्मी १ फागुन २०५४ मा सरकारी जागिरमा प्रवेश गरेका थिए। उनले जागिर सुरु गरेदेखि १४ साउन २०८० सम्म आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान गरिएको थियो।
अनुसन्धानमा मुनकर्मीले तीन करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ आर्जन वैध गरेको देखिएको थियो। यही अवधिमा उनले आर्जन गरेको सम्पत्ति ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ आर्जन गरेको देखिएको छ।
वैध आय र जम्मा आय जोडेर बाँकी हुन आउने दुई करोड ५९ लाख ३४ हजार ५१७ रुपैयाँ बिगो माग दाबी लिइएको अधिकारीले बताए। “मुनकर्मीले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको, मनासिव कारणबिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएकाले,” अभियोग पत्रमा भनिएको छ, “सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको देखिएकोले मुद्दा दायर गरिएको छ।”
मुनकर्मीले आफूले आर्जन गरेको सम्पत्ति पत्नी पूर्णकेशरी गोसाईंका नाममा राखेको पाइएको छ। उक्त सम्पत्ति जफत प्रयोजनका लागि गोसाईलाई समेत प्रतिवादी बनाइएको छ।

