काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले बिदाइ भेट गरेका छन्।
आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन्। भेटमा नेपाल-चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकाले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र यो भविष्यमा पनि निरन्तर रहने उल्लेख गरे।
प्रधानमन्त्री कार्कीले पनि सोङ आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेकामा बधाई तथा सफल यात्राको कामना गरिन्। साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाइन्। चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उनले व्यक्त गरिन्।