काठमाडौँ। निर्वाचन आयोगले आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ। आयोगले आज सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनले भने‚ “आयोगले सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहने गरी स्थान तोकिसकेको छ‚ तोकिएका मतदानस्थलमा दुई-दुईवटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ।” जसमा निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलले मतदान गर्ने व्यवस्था छ भने मतदान केन्द्र ‘क’ प्रदेशसभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएको छ।
आयोगद्वारा आज (बुधबार) जारी विज्ञप्तिमा भनिएको छ‚ “कोसी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर‚ मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर‚ बागमती प्रदेशको भुटनदेवी मावि हेटौँडा‚ गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरामा प्रदेशको मतदान केन्द्र तोकिएको छ।”
त्यसैगरी आयोगले लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र दाङ‚ कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढीमा तोकिएको छ।
