काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

नाकमा मासु पलाउने समस्या भएर अस्पताल पुगेका बालकको आँखाको नसामा क्षति

२ पुष २०८२
नोबेल शिक्षण अस्पताल र इन्सेटमा दृष्टि गुमाएका बालक
अ+
अ-

विराटनगर। शल्यक्रियाको नेतृत्व गरिरहेका चिकित्सक बीचमै अर्को बिरामी हेर्न जाँदा ७ वर्षीय बालकले सधैँका लागि आँखाको ज्योति गुमाउनुपरेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित छानबिन समितिका अनुसार वरिष्ठ चिकित्सकले सहायकका भरमा शल्यक्रिया सक्न खोज्दा नाकको सामान्य शल्यक्रिया गर्न पुगेका सुनसरीको इटहरी-१ हाँसपोसाका जेनिस पाठकको दाहिने आँखाको नसा काटिएर सदाका लागि ज्योति गुमेको हो।

के हो घटना?

नाकमा मासु पलाउने समस्या भएपछि जेनिसलाई मामा श्रीकृष्ण प्रसाईंले ४ मंसिरमा विराटनगर-४ स्थित नोबेल शिक्षण अस्पताल पुर्‍याएका थिए। ५ मंसिरमा अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ र डा. कविराज बाँस्तोलासहितको टोलीले शल्यक्रिया गरेको थियो।

तर, रोग निवारणका लागि गरिएको शल्यक्रियाले थप समस्या निम्त्यायो। अस्पतालबाट घर पुग्नासाथ बालकले आँखा देख्न छोडेको बताउन थाले। उनलाई तत्कालै विराटनगर आँखा अस्पताल (रानी) पुर्‍याइयो। त्यहाँ जाँचपछि जब अस्पतालले रिपोर्ट दियो, परिवारका अरू सदस्यका अगाडि पनि निष्पट्ट अँध्यारो छायो। उनीहरू छाँगाबाट खसेजस्तै भए। “त्यहाँ परीक्षण गर्दा थाहा भयो, नाकको शल्यक्रिया गर्ने क्रममा बालकको आँखाको महत्त्वपूर्ण नसा नै काटिएको रहेछ। आँखा अस्पतालले ‘अब कहिल्यै ज्योति नफर्कने’ रिपोर्ट दिएपछि हामी त स्तब्ध भयौँ,” प्रसाईं भन्छन्।

विराटनगर आँखा अस्पतालको बिरामी पुर्जा

विराटनगर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. मुकेश पाण्डेका अनुसार बालकको आँखाको अवस्था चिन्ताजनक छ। उनी भन्छन्, “अस्पताल ल्याउँदा आँखाको गेडी नचल्ने, आँखा र दिमाग जोड्ने नसाहरू निष्क्रिय भएको र आँखाको पर्दामा रगत पुर्‍याउने मुख्य नसा बन्द भएको अवस्था थियो। भविष्यमा आँखाको ज्योति आउने वा राम्रो देख्ने सम्भावना छैन।”

प्रसाईंका अनुसार आँखा अस्पतालको रिपोर्टपछि उनीहरूले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए। बालककी आमा निर्मला पाठक दोषीलाई हदैसम्मको कारबाही र बालकको भविष्य सुरक्षित हुने गरी क्षतिपूर्ति नपाएसम्म कानुनी लडाइँ लडिरहने बताउँछिन्।

जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित परिवारले दिएको उजुरी

यता, उजुरीपछि स्वास्थ्य मन्त्रालयले छानबिनका लागि ११ मंसिरमा वीर अस्पतालकी ईएनटी विभाग प्रमुख डा. अनिता जीसीको संयोजकत्वमा कोसी अस्पतालका डा. वरुण देव र जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत रामप्रसाद लुइँटेलसहितको तीनसदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले २६ मंसिरमा प्रतिवेदन बुझाएको थियो।

के छ प्रतिवेदनमा?

प्रतिवेदनअनुसार शल्यक्रियाको नेतृत्व गरेका डा. प्रज्वल श्रेष्ठ बीचमै ‘अपरेसन थिएटर’ छाडेर निस्किएका थिए। प्रतिवेदनमा उल्लेख छ, ‘सिनियर डाक्टरले नै बीचमा छाडेर हिँडेपछि सहायक डाक्टरहरूको भरमा अपरेसन अघि बढ्यो, जसले गर्दा नाकको भित्री हड्डी निकालेर आँखाको नसा र रक्तनलीमा क्षति पुग्न गयो। यदि सिनियर डाक्टर त्यहाँ भइदिएको भए यो दुर्घटना टर्न सक्थ्यो।’

डा. श्रेष्ठले पनि आफू शल्यक्रियाको बीचमै निस्किएको स्विकारेका छन्। छानबिन समितिसँगको बयानमा उनले भनेका छन्, ‘अर्को अपरेसन थिएटरमा बिरामीको ज्यान बचाउन (इमर्जेन्सी ट्राकियोस्टोमी गर्न) म जानुपरेको हो। बाँकी शल्यक्रिया डा. कविराज बाँस्तोलाले कन्टिन्यु गर्नुभयो।’

श्रेष्ठका बयानका बावजुद समितिले शल्यक्रियाको बीचमै निस्कनु र बालकको संवेदनशील अंगमा क्षति पुग्नुलाई ‘अक्षम्य लापरबाही’ मानेको छ।

यता, जिल्ला प्रहरी कार्यालय मोरङले प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन १ पुसमा नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरिसकेको छ।

आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन मेडिकल काउन्सिललाई लेखिएको पत्र

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला भन्छन्, “चिकित्सकसँग सम्बन्धित विषय नेपाल मेडिकल काउन्सिलले हेर्ने भएकाले हामीले निवेदकले दिएको जाहेरीसहितको सम्पूर्ण कागजपत्र र प्रतिवेदन काउन्सिललाई बुझाएका छौँ। अब आवश्यक कारबाही काउन्सिलले नै अघि बढाउनेछ।”

कारबाही र क्षतिपूर्तिको सिफारिस

समितिले शल्यक्रिया गर्ने मुख्य चिकित्सक, प्रत्यक्ष संलग्न युनिट प्रमुख तथा असिस्टेन्ट सर्जन दोषी ठहरिए नेपाल मेडिकल काउन्सिलको नियमानुसार लाइसेन्स निलम्बन वा खारेजीसम्मको ‘कडा अनुशासनको कारबाही’ गर्न सिफारिस गरेको छ। साथै, पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि सिफारिस गरेको छ।

प्रतिवेदनमा भनिएको छ, ‘बालकको जीवनभरको उपचार खर्च, मानसिक क्षति र भविष्यमा रोजगार गुमेको क्षतिका लागि लापरबाही गर्ने चिकित्सक र अस्पतालबाट नियमानुसार उचित र पर्याप्त क्षतिपूर्ति भराउने व्यवस्था गरिनुपर्ने देखियो।’

बालकको आँखाको अवस्थाको स्वतन्त्र मूल्यांकन गर्न ईएनटी र न्युरो अप्थाल्मोलोजिस्ट विशेषज्ञहरू सम्मिलित एक स्वतन्त्र मेडिकल बोर्ड गठन गर्नुपर्ने सुझाव पनि समितिले दिएको छ।

नोबेल मेडिकल कलेजले डिस्चार्ज गरेको पत्र

यता, काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देव भने छानबिन प्रतिवेदन र प्रशासनको पत्र प्राप्त भएपछि कानुनी प्रक्रिया अगाडि बढाउने बताउँछन्। “उपचारका क्रममा लापरबाही देखिए काउन्सिलको ऐन र नियमअनुसार कारबाही अगाडि बढ्नेछ,” उनी भन्छन्।

निर्मला र रामचन्द्र पाठकका एक्ला छोरा हुन् जेनिस। उनी कक्षा १ मा अध्ययरत छन्।