२३ र २४ भदौको आन्दोलन भ्रष्टाचारविरुद्धको हो‚ यो सफल पनि भएको छ।
काठमाडौँ। नागरिक अगुवा तथा अधिकारवादी नेता कृष्ण पहाडीले गत २३ र २४ भदौको आन्दोलनलाई भ्रष्टाचारविरुद्धको आन्दोलनको संज्ञा दिएका छन्। उनले जेन-जीको भ्रष्टाचारविरुद्धको आन्दोलन सफल भएको पनि दाबी गरे। उनले कुण्ठाको राजनीति देखाउन नहुने धारणा पनि राखे।
मानवअधिकार तथा शान्ति समाजले राजधानीमा बुधबार आयोजना गरेको ‘जेन-जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौताबारे राजनीतिक तथा नागरिक समाजको दृष्टिकोण’ गोलमेच छलफलमा उनले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा उनले संविधान संशोधन अहिलेको आवश्यकता रहेको पनि बताए।
दलहरुले कुण्ठाको राजनीतिक देखाए मुलुक अघि बढ्न नसक्ने भन्दै उनले चुनावका लागि सहकार्य आवश्यक भएको बताए। अधिकारकर्मी पहाडीले नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन नचाहेको आरोप लगाएका छन्। उनले भने‚ “भ्रष्टाचारविरुद्धको आन्दोलन सफल भएको छ। चुनाव गर्ने हो भने सहकार्य आवश्यक छ। तर देउवा र ओलीले चुनाव चाहँदैनन्।” तर उनले एमाले र कांग्रेसभित्र राम्रा मान्छेहरु रहेको पनि स्वीकारे।
ओली र देउवाले चुनाव चाहँदैनन् : पहाडी
उनले मुलुकमा कसैले पनि गृहयुद्ध नचाहेको र कांग्रेस-एमालेले पनि गृहयुद्ध नचाहेको बताए। तर निर्वाचनको विकल्प नरहेको भन्दै सबै निर्वाचनमा होमिएर मुलुकलाई अग्रदिशामा अघि बढाउनुपर्ने सुझावसमेत दिए।
उनले ध्वंशलाई समर्थन गर्न नसकिने बरु सरकार र जेन-जी अगुवाबीच भएको सम्झौतामा निर्वाचनप्रति भएको प्रतिबद्धतालाई सकारात्मक मान्न सकिने बताए। “ध्वंशलाई समर्थन गर्न सकिँदैन।
दण्डहीनतालाई बढावा दिने काम गर्नुहुँदैन‚” पहाडीले भने‚ “लोकतन्त्रलाई जोगाउन जेन-जी आन्दोलन भएको हो।”
शान्ति समाजकी अध्यक्ष रेनुका पौडेलको सभापतित्वमा भएको कार्यक्रममा जेन-जी अगुवाहरु‚ संविधानविद् काशीराज दाहाल‚ कांग्रेस नेता मीनेन्द्र रिजाल‚ अधिकारकर्मी तथा कवि अर्जुन पराजुलीलगायतको सहभागिता थियो।