काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले जलवायु परिवर्तन र विश्वव्यापी तनावजस्ता नयाँ चुनौतीलाई सामना गर्न संयुक्त राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्।
संयुक्त राष्ट्रसङ्घसँग नेपालको साझेदारीको ७०औँ वार्षिकोत्सवका अवसरमा आज (बुधबार) आयोजित कार्यक्रममा राष्ट्रसङ्घले नेपालमा शान्ति, विकास र मानवअधिकार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ छ।
प्रधानमन्त्री कार्कीले विश्व शान्ति कायम गर्न र नेपाली जनताको जीवनस्तर उकास्न संयुक्त राष्ट्रसङ्घले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरिन्। उनले नेपाल संयुक्त राष्ट्रसङ्घको सशक्त र विश्वसनीय साझेदारका रूपमा निरन्तर रहने प्रतिबद्धता जनाइन्।
सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेदेखि नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्त पालना गर्दै आएको प्रधानमन्त्री कार्कीले स्मरण गराइन्। संयुक्त राष्ट्रसङ्घको शान्ति सहयोग अभियानमा सबैभन्दा धेरै सैनिक योगदान गर्ने देश नेपाल भएको बताउँदै उनले शान्तिपूर्ण विश्वप्रति नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
त्यस अवसरमा प्रधानमन्त्री कार्कीले आगामी २१ फागुनमा हुने निर्वाचन समयमै र सफलतापूर्वक सम्पन्न गरिने विश्वास दिलाइन्। निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र सुरक्षा अवस्था उल्लेखनीय रूपमा सुधार भएको उनले जानकारी दिइन्।
सन् २०२६ सम्ममा नेपाल ‘अति कम विकसित मुलुक’ को सूचीबाट स्तरोन्नति हुने विश्वास व्यक्त गर्दै यस उपलब्धिलाई दिगो बनाउन संयुक्त राष्ट्रसङ्घको निरन्तर साझेदारी, लगानी र प्रविधिगत सहयोग आवश्यक रहने उनको धारणा थियो। परस्पर निर्भर विश्वमा बहुपक्षीय सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै कार्कीले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यलाई नेपालले अझ सुदृढ बनाउँदै अघि बढ्ने विश्वास दिलाइन्।